प्रस, वीरगंज, ८ साउन/
स्व बिन्दुदेवी पाण्डे स्मृति प्रतिष्ठानको आयोजनामा पाँचौं स्व बिन्दुदेवी पाण्डे महिला पत्रकार पुरस्कार शुक्रवार प्रदान गरिएको छ ।
स्व पाण्डेको पाँचौं वार्षिक पुण्यतिथिमा प्रदान गरिने यो पुरस्कार कोरोनाको कारण पछि सर्दै आज कार्यक्रम आयोजना गरी एनी कुँवरलाई प्रदान गरिएको हो ।
प्रदेश २ का वैकल्पिक ऊर्जामन्त्री ओमप्रकाश शर्माले रु १५ हजार राशिको सो पुरस्कार कुँवरलाई प्रदान गरेका थिए ।
कार्यक्रममा उनले पुरुष पत्रकारभन्दा महिला पत्रकार बढी जोखिममा रहेर काम गरिरहेकाले उनीहरूलाई सुरक्षाको अनुभूति गराउन आफू प्रयत्नशील रहेको बताए । उनले पत्रकारहरूको जोखिमपूर्ण कामलाई देखेरै डेढ दशकअघि निजी खर्चमा दुर्घटना बीमा गराए पनि सोलाई निरन्तरता दिन नसक्दा दुःख लागेको बताए । उनले पत्रकारको लागि सदैव राम्रो गरूँ भन्ने सोच राखेर काम गर्दा केही पत्रकारको छुद्रताका कारण आफ्नो सो प्रयासमा बाधा पुग्ने गरेको बताए ।
प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, शाखा अध्यक्ष अनुप तिवारी, वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार माधुरी महतोले गरेकी थिइन् ।