काठमाडौं, ६ साउन/रासस
जापानमा आयोजना हुने ३२औं गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गर्र्दैछन् ।
यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथलेटिक्स, सुटिङ, जुडो र पौडी खेलमा सहभागिता जनाउँदैछ । ३२औं गृष्मकालीन ओलम्पिकमा एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
एथलेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले एक सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् ।
सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल यही साउन ९ गते हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि साउन ९ गते साँझ नै हुनेछ ।
जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरीयताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन लागेको हो । १९ वर्षीया सोनियाले ४८ किलोमुुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि यही साउन ९ गते नै हुनेछ । पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ ।
पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा (विश्वव्यापी सहभागिता)बाट ओलम्पिकमा पुगेका हुन् । नेपाली पौडी खेलाडी एलेक्सले पुरुष सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, जलपरी गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरिकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।
समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।
नेपालले सन् १९६४ मा जापानको टोकियोमैं भएको १८औं संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरू गरेको थियो । हालसम्म नेपालका ८५ खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।
यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका थिए । ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ । एथलेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा शुरू गरेयता एथलेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।
यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथलेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछन् ।