काठमाडौं, २८ असार/रासस

प्रधानमन्त्री केपीशर्मा ओलीलाई अमेरिकी सरकारले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप आज नेपालस्थित अमेरिकी राजदूत -यान्डी बेरीले हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘अमेरिकी सरकारबाट उपहारस्वरूप प्राप्त कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीले खोप हस्तान्तरण गरेका हुन् । आज बिहान पौने १० बजे कतार एयरवेजमार्फत खोप नेपाल आइपुगेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले खोपले नेपाली जनतालाई कोरोना भाइरसबाट बचाउन सहयोग मिल्ने बताए । उनले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा पु-याइएको सहयोग तथा राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई गरेको आग्रहबमोजिम कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन ऐक्यबद्धता जनाएकामा अमेरिकी सरकारलाई धन्यवाद दिंदै खोप उपलब्ध गराइएसँगै अमेरिकासँगको नेपालको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीका अनुसार उपलब्ध गराइएको खोप प्राथमिकता अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका सर्वसाधारणलाई निश्शुल्क दिइनेछ । कार्यक्रममा राजदूत बेरीले खोपबाट नेपाली जनतालाई सङ्क्रमणबाट जोगाउने सकिने बताए । उनले कोभिड–१९ को लडाइँमा अमेरिकी सरकारले नेपाललाई सहयोग पु-याउँदै आएको जनाउँदै महामारीविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्र्ने बताए ।

अमेरिकी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भेन्टिलेटर, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधा अन्तर्गत अनुदान सहयोग गरेको हो । सो खोप एकपटक लगाए पुग्छ । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आइसकेको छ । नेपालमा अहिलेसम्म भारतबाट कोभिशिल्ड र चीनबाट भेरोसेल खोप आइसकेको छ । नेपाललाई हालसम्म ६० लाख मात्रा खोप प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here