महोत्तरी, १९ असार/रासस
लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारीखेती गर्ने किसानको पिरलो बढेको हो । बारीमा भन्टा, खुर्सानी र अरू तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी, रायो, लट्टे (ठडिया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौंला, झिउनी, लौका, चिचिन्डा, काँक्रो, परवल र रेलासहितका तरकारीका लहरा पनि लगातारको पानीले गलाएर पहेंलिएका छन् ।
असार लागेदेखि परेको पानी र पछिल्ला चार दिनयताको निरन्तरको वर्षाले यसपालि बर्खे र भदौरे दुवै (भदौदेखि उत्पादन दिने) तरकारीखेतीबाट हात धुने अवस्था बनेको किसानको दुःखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्गलवारदेखि लगातार पानी पर्दै आएको छ । “तरकारीका बेला (लहरा) पानीले गलाएर पहेंलिएका छन्, तरकारीका बोट पानीले सोत्तर बनाएर लडाएको छ,” जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतो भन्छन्, “खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, अब तरकारीबाट आस म-यो ।”
सधैंजसो भदौपछि लगालगी पर्ने चाडपर्वलाई लक्षित गरी लगाइने तरकारीखेती यसपालि लगातारको वर्षाले गलाएपछि तरकारीको हाहाकार नै हुने र मूल्य आकाशिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ ।
लगातारको वर्षाले तरकारी बाली खेतबारीमैं गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि उपभोक्ता पनि महँगाइको मारमा परेका छन् । लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त महँगो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीय तहका कार्यालयहरूको आँकडा अनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारीखेती लगाइँदै आइएको देखिन्छ ।
लगातारको वर्षाले जिल्लाका ग्रामीण सडक मात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् । बर्दिबास–रामगोपालपुर–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर, जलेश्वर–रौजा–बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारीसाधन पनि चल्न सकेका छैनन् । तरकारी बाली र सडक यातायातमा असजिलो बढे पनि असार मध्यसँगैको वर्षाले खेतका ग-हा टन्न भरिंदा पानी थामिएपछि धान रोप्न पाइने किसानको आस छ । तर यसअघि रोपिएको रोपो पानीले गलाउने र अबको रोपाइँका लागि बीउ अपुग हुन सक्ने चिन्ताले किसान पिरोलिएका छन् ।
जिल्लामा करीब ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिने भनिए पनि मौसमको प्रतिकूलताले यसपालि अहिलेसम्म एक चौथाइ रोपाइँ पनि हुन सकेको छैन । हिउँदे धान भने साउन तेस्रो सातासम्म रोप्न सकिने हुँदा आत्तिहाल्नुपर्ने गरी समय नसिद्धिएको कृषि ज्ञान केन्द्र, महोत्तरीका विज्ञले बताए