राजविराज, १९ असार/रासस
विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोशी नदीमा शनिवार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको मापन अनुसार कोशी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रवार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोशी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीमा पानी बहाव शुक्रवार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरू बढ्ने अनुमान गरिएको छ ।
पाँच सय घर डुबानमा
लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिकामा सप्तकोशी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । उक्त नगरपालिकाको वडा नं ९, १०, ११ र १२ का करीब तीन सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । त्यस्तै, त्रियुगा, अमहा, टेङ्ग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोशी नगरपालिकाको वडा नं १, २, ३ र ४ का करीब दुई सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए । उनका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ ।
सप्तरीको आधा दर्जन गाउँ बाढीको उच्च जोखिममा
केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीश सिंहले जानकारी दिए । चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उनले बताए । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे ।
खाँडो नदी तटबन्धको काम केही ठाउँमा अधूरो रहेकाले कुनै पनि बेला बाढी तिलाठी कोइलाडीमा आउन सक्ने र गाउँपालिकाका अधिकांश घर डुबानमा पर्न सक्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ । त्यस्तै, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौं खोलामा आउने बाढीले हरेक वर्ष सप्तरीका अधिकांश गाउँ डुबानमा पर्दा ठूलो धनजनको क्षति हुने गरेको पाइएको छ । यस्तै, सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाइर कृष्णासवरण, महेदवा, तिरहुत, रूपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुबानमा पर्ने गरेको पाइएको छ ।