प्रस, सप्तरी, १२ असार/

सप्तरी जिल्ला अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा शनिवार दिउँसो एउटा ट्याङ्करले दुईजना बालिकाको ज्यान लिनुका साथै तीनजनालाई घाइते बनाएको छ। जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा एउटा ट्याङ्करले दुई किलोमिटरको दूरीमा दुईवटा दुर्घटना गराएको थियो।

एउटा ट्याङ्करले दुई किलोमिटरको फरकमा छुट्टाछुट्टै दुईवटा मोटरसाइकललाई ठक्कर दिंदा दुवै मोटरसाइकलमा पछाडि सवार एक/एक जना बालिकाको ज्यान गएको र अन्य तीनजना घाइते भएका हुन्। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.७ख ५४९५ नम्बरको ट्याङ्करले स.११प २५८५ र स.२प ५२४५ नम्बरका मोटरसाइकललाई सीतापुरमा ठक्कर दिएको थियो। सीतापुरको पहिलो दुर्घटनामा मोटरसाइकलमा सवार रूपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यशोधाकुमारी प्रमाणीको ज्यान गएको छ।

सोही मोटरसाइकलमा सवार यशोधाकी आमा ३२ वर्षीया सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन्।
त्यसपछि उक्त ट्याङ्करले सो घटनास्थलभन्दा करीब २ किलोमिटरको दूरीमा रहेको चाँदनी चोकमा स.२प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो. औरञ्जेबकी ७ वर्षीया छोरी सुमैया प्रवीणको ज्यान गएको हो। उक्त मोटरसाइकलमा सवार नविया प्रवीण घाइते भएकी छन्।

घाइतेहरूको उपचार जिल्ला सदरमुकाम राजविराजस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा शव राखेर राजमार्ग अवरुद्ध गरेका थिए। मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई ज्यान मुद्दा लगाउनुपर्ने माग गरेका थिए। साँझपख प्रहरीले सडक सुचारु गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here