प्रस, सिम्रौनगढ, ११ असार/

सिम्रौनगढ नगरपालिका–९ बसबसियास्थित प्रसिद्ध पर्यटकीय स्थल झरोखर पोखरी परिसरमा विपद् प्रतिकार्य अभ्याससम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बाढीको बेलामा सर्वसाधारणलाई बचाउने उपायबारे नेपाली सेना, सशस्त्र र जनपद प्रहरीका जवानले अभ्यास गरेरदेखाएका थिए । सो क्रममा उनीहरूले मोटरबोट, ज्याकेट, ट्युब, बेलुन, केराको थम्बा, बोतल, गाग्रो, डोरीलगायतका सामग्रीबाट बाढीमा परेकालाई उद्धार गर्न सकिने विधिबारे अभ्यास गरेर देखाएका थिए ।

उनीहरूले सो अवसरमा बाढीको बेलामा बचाउन प्रयोग हुने सामग्रीको पहिचान गरी जानकारी गराएका थिए । बाराका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति, बाराका अध्यक्ष सुरेन्द्र पौडेलले बेलाबखत आइपर्ने दैवी प्रकोप, आगलागी महामारी लगायतका विपद्मा सुरक्षाका तीनवटै निकाय तयारी अवस्थामा रहने र अभ्यास पनि निरन्तर जारी रहने बताए ।

सिम्रौनगढका नगरप्रमुख विजयशङ्कर यादवले पर्यटकीय स्थल झरोखर पोखरीमा गरिएको अभ्यासले बचाउ कार्यमा टेवा पुग्ने बताए । सो अवसरमा उनले हुलाकी सडक तामागढी–सिम्रौनगढ सडकखण्डका बासिन्दाहरूलाई मुआवजा पाउने वातावरण बनाइदिन प्रजिअसँग आग्रह गरे ।

कार्यक्रममा निजगढ नपाका प्रमुख सुरेशकुमार खनाल, गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, सशस्त्र प्रउ रवीन्द्रराज कर्णजीत, नेपाली सेनाका सुरेन्द्र प्रताप, रेडक्रस बाराका उदय नेपाल, गैरसरकारी संस्थाका बृजमोहन कुशवाहालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here