प्रस, ठोरी, ११ असार/

पर्सा जिल्लाबाट पहिलोपटक सगरमाथा आरोहण गरेका ठोरीका हरेराम खड्का र स्ट्यान्डअप कमेडी गरेर विश्व कीर्तिमान राख्ने उमेशकुमार गौतमलाई ठोरी गाउँपालिकाले शुक्रवार सम्मान गरेको छ ।

हिमाल आरोहण र कलाकारिताको क्षेत्रमा ठोरीको नाम राख्न सफल दुवै युवकलाई गापा कार्यालयले कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । कार्यक्रममा गापा अध्यक्ष पद्मलाल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, वडाध्यक्षहरू सूर्यबहादुर लामा, बईबहादुर तामाङ र रामबहादुर पाख्रिनले खाँदा र दोसल्ला ओढाएर दुवैजनालाई सम्मान गरेका थिए ।

सो अवसरमा सगरमाथा आरोही खड्कालाई ठोरी गापाले रु २ लाखको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै गापा अध्यक्ष श्रेष्ठले दुवै युवकले ठोरीको नाम उच्च राखेकोमा प्रशंसा गरे । यसैगरी, कार्यक्रममा खड्काले विविध समस्या र चुनौतीका बावजूद सगरमाथा आरोहण गर्न सफल भएकोमा गर्व महसूस भएको बताउँदै ठोरी गापाको नाम अङ्कित ब्यानर फहराएको तस्वीरसहितको मायाको चिनो गापा अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

विश्व कीर्तिमान राख्ने गौतमले ठोरी गापाले प्रतिभाको कदर गरेकोमा धन्यवाद दिए । गापाका शिक्षा संयोजक भुपालकुमार जोशीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here