प्रस, परवानीपुर, ११ असार/
वीरगंजमा होटल, पार्टी प्यालेस तथा रेस्टुराँ खोल्न दिन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजले पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै वीरगंजका सम्पूर्ण होटल, पार्टी प्यालेस तथा रेस्टुराँ खोल्न माग गरिएको हो ।
सङ्घका अध्यक्ष हरि पन्त नेतृत्वको टोलीले गत वैशाख १६ गतेदेखि पर्सामा जारी निषेधाज्ञाले होटल व्यवसाय धराशयी बन्दै गएको र बैंकको ब्याज, घरबहाल कर, सम्पत्ति कर, कर्मचारीको तलबभत्तालगायत खर्चको दायित्व बढ्दै गएकाले व्यवसाय बर्बाद भएको बताएको थियो ।
गत र यस वर्षको कोरोना महामारीले गर्दा थलिएको होटल व्यवसायलाई ऊर्जा दिन आगामी दिनमा स्वास्थ्य मापदण्ड पालना गरी होटल व्यवसायलाई सञ्चालनमा नल्याए यो व्यवसाय चौपट बन्ने भएकोले असार १३ गतेपछि होटल खोल्न स्थानीय प्रशासनले अनुमति दिनुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा सङ्घका वरिष्ठ उपाध्यक्ष रचेन्द्रसिंह थापा, महासचिव माधव बस्नेतलगायतको सहभागिता थियो । वीरगंजमा चार तारे लड्र्स दियालो प्लाजा, तीन तारे होटल भिस्वा, दुर्ई तारे मकालु, पूजन, कन्ट्री इन, क्लासिक, कुमु, हीरा प्लाजा, सम्झनालगायत गरी करीब ७० वटा होटल छन् ।