प्रस, पर्सागढी, ९ असार/
पर्सागढी नगरपालिका–४ मा रहेको स्वास्थ्य चौकीलाई गैर नेपाली आवासीय सङ्घ (एनआरएन) अफ्रिका राष्ट्रिय समन्वय समितिले अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
वडाध्यक्ष समसुद्दीन देवानको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख लोकनारायण यादवले स्वास्थ्य चौकी बिरुवागुठीलाई ६ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा नगरप्रमुख यादवले संस्थालाई स्वास्थ्य सामग्री, अक्सिजन उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे ।
उनले अहिलेको अवस्थामा स्वास्थ्य सामग्री आवश्यक भएको र एनआरएन अफ्रिकाले सोको आपूर्ति गरी सहज बनाएको बताए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र पञ्जियार, उपप्रमुख उमेश साह, डा रञ्जन सिंह, स्वास्थ्यकर्मी श्वेता लामा, सरिता कार्की, स्वास्थ्य चौकी बिरुवागुठीका प्रमुख कविन्द्रकिशोर यादवलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण अच्छेलाल यादवले गरेका थिए ।