प्रस, पंचगावाँ, ९ असार/
सखुवाप्रसौनी गाउँपालिकाले पशुपक्षीमा लाग्ने रोगविरुद्धको औषधि निशुल्क वितरण गरेको छ । पशु चौपायामा लाग्ने विभिन्न थरीका औषधि रोग लाग्नुपूर्व तयारीको रूपमा पशुपालकहरूलाई निश्शुल्क उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले बताए ।
गापामा रहेको गाई, भैंसी, बाख्रा, पशुपक्षी, हाँस, परेवा, कुखुरालगायतलाई आवश्यक औषधिका साथै पौष्टिक आहारसमेत किसानहरूलाई प्रदान गरिएको गापा अध्यक्ष प्रदीपकुमार जैसवालले बताए ।
यसैगरी, गापाको पशु विकास शाखाबाट हाइब्रिड ट्युसेन्टी घाँसको बीउ किसानलाई वितरण गरिएको छ । पशु चौपायाहरूको लागि गापामा घाँसको अभाव नहोस् भनेर सो जातको घाँस वितरण गरिएको पशु शाखा प्रमुख अमित कुशवाहाले बताए । गापाको ६ वटै वडामा २५० जना पशुपालक किसानलाई यी सामग्री वितरण गरिएको उनले जानकारी गराए ।
यसैगरी, गापा अध्यक्ष जैसवालले ६ वटै वडामा किसानहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरे । गापालाई स्वच्छ र हराभरा बनाउन र मौसमी फलफूल उत्पादन होस् भनेर विभिन्न प्रजातिका बिरुवा उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख दयाराम वाग्लेले बताए ।किसानलाई २ सय आँप, १ सय कटहर, १ हजार लिची र सयवटा कागतीका बिरुवा वितरण गरिएको उनले जानकारी गराए ।