प्रस, सेढवा, ११ जेठ/
लकडाउन र निषेधाज्ञाका कारण लक्षित वर्गले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्।
नेपाल सरकारले लक्षित वर्गलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएकोमा निषेधाज्ञाका कारण बैंक सातामा केही दिन मात्र खुल्ने गरेका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको हो।
ठोरी, जीराभवानी, जगरनाथपुर, धोबिनी, पटेर्वासुगौलीलगायत गाउँपालिकाहरूमा हालसम्म दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन। बैंकले प्रभावकारी सेवा प्रवाह नगरेका कारण भत्ता नपाएको जीराभवानी गापा–१ की एकल महिला भुलनीदेवी थरुनीले दुःखेसो पोखिन्। उनले गापाबाट भत्ताको रकम निकासा गरिसकेको र बैंकमा पटक–पटक जाँदा रकम नपाएको बताइन्।
जीराभवानी गापा–५ का ज्येष्ठ नागरिक भुलन खवासले धेरैपटक बैंक धाए पनि भत्ता पाएको दुःख पोखे। लकडाउन र कोरोना महामारीको समयमा सबैलाई पैसाको अभाव भएकोले समयमैं भत्ता वितरण गरे वृद्धवृद्धाको दैनिकी सहज हुने उनले बताए।
एनआइसी एशिया बैंक जीराभवानी शाखाका मैनेजर अब्दुल फरमानले राष्ट्र बैंकले साताको दुर्ई दिन मात्र पच्चीस प्रतिशत कर्मचारी राखेर बैंक सञ्चालन गर्न निर्देशन दिएको हुँदा समस्या भएको बताए। बैंकमा भत्ता रकम आए पनि लकडाउनको कारण वितरणमा समस्या भएको उनले बताए। उनले एकै दिन एक सयभन्दा बढीलाई भत्ता वितरण गरेको पनि बताए।
जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले दोस्रो चौमासिकको रकम २५ दिनअघि सम्बन्धित व्यक्तिको खातामा पठाएको बताए। उनले स्थानीय बैंकले साताको चार दिन खोल्ने तैयारी गरिरहेको बताए। भीडभाड कम होस् र एउटै सेवाग्राही दुर्ईपटक बैंक आउनुनपर्ने गरी तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्तासमेत एक साताभित्रै पठाउने अधिकृत मेहता बताए। सो गापाको वडा नं ५ र ४ को सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ भने वडा नं १, २ र ३ को भत्ता वितरण प्रक्रिया बाँकी छ।