कुमार रुपाखेती

२०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरणपछि जन्मेको नेपाल कम्युनिस्ट पार्टी कोस्टमा (नेकपा) अब अस्तित्वमा छैन। जेठा कम्युनिस्ट नेता ऋषिराम कट्टेलले त्यतिखेरै आफ्नो दलसँग नाम जुधाएको भन्दै अदालतमा उजूरी दिएका थिए। कोस्टमा (नेकपा) नामकरण गरिएको ओली–प्रचण्डको नेपाल कम्युनिस्ट पार्टीभन्दा धेरै अगाडि ऋषिरामले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी सङ्क्षेपमा नेकपा दर्ता गराइसकेका थिए।
ऋषिराम कट्टेल गोर्खाका पुराना कम्युनिस्ट नेता हुन्। उनी २००६ सालदेखि कम्युनिस्ट पार्टीमा लागेर उतारचढाव देखेका, हन्डर खाएका इमानदार नेता मानिन्छन्। ऋषिराम कट्टेल कमरेड पुष्पलालका कट्टर अनुयायी हुन्। पुष्पलालकी पत्नी साहना प्रधान माले र माक्र्सवादी एकीकरणपछि मनमोहनसँगै एमाले बने पनि ऋषिराम कट्टेल अन्नतः एमालेबाट बाहिरिए। एमालेमा रहँदा ऋषिराम कट्टेल महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)का कट्टर विरोधी थिए। अहिले पनि उनी जबजलाई नेपाल कम्युनिस्ट आन्दोलनको विषवृक्ष भन्छन्। एमालेको पहलमा भएको महाकाली सन्धिलाई उनी अझै पनि राष्ट्रघातको संज्ञा दिन्छन्। नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव केशरजङ्ग रायमाझीले राजा महेन्द्रको २०१७ सालको कदमलाई समर्थन गर्दै राजावादी भएपछि नेपालका कम्युनिस्टहरू २०१८ सालपछि छिन्नभिन्न भएर कोही भारत पलायन भए, कोही भूमिगत भए र केही निष्क्रिय बने। भनिन्छ, तेस्रो महाधिवेशनसम्म नेपाल कम्युनिस्ट पार्टी एउटै थियो। ऋषिराम कट्टेलले मदन भण्डारीलाई जननेता भन्नु वाहियात ठान्दछन्। उनका अनुसार मदन भण्डारी न कहिले जेलनेल भोगेको मान्छे हो, न २०४६ सालअगाडि सार्वजनिक भएको नेता हो। जननेताको पगरी त उनका शिष्यहरूले अनाहकमा पहि–याइदिएको मात्रै हो रे। मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा घटनालाई उनी दुर्घटना मान्दैनन्। उनको नजरमा चालक अमर लामा यस घटनाका प्रमुख पात्र थिए। अमर लामा मदन भण्डारीका प्रिय पात्र पनि थिए रे। दासढुङ्गा घटनाअघि पोखराबाट नारायणगढ जाने क्रममा ऋषिराम पनि सँगै थिए तर उनी पार्टीको कामले खैरेनीमा उत्रिए। उनको अनुभवमा चालक अमर लामा मजाकिया र बोलक्कड भएपनि पोखराबाट हिंड्दा एकदम गम्भीर देखिन्थे। पोखराबाट हिंड्नुअघि केहीबेर गायब भएका अमर लामालाई खोज्नुपरेको, पानी परेको छ गाडीमा झन्डा न राख भन्दाभन्दै राखेको लामा आपंैmले भण्डारीको सिटबल्ट करबल गरेर बाँध्न लगाएको आदि लामाका शङ्कास्पद गतिविधि ऋषिराम अझै सम्झन्छन्। ऋषिरामका अनुसार सच्चा कम्युनिस्ट पार्टी उनको मात्रै हो। ओली–प्रचण्डहरू सरकारी कम्युनिस्ट पार्टी भएको बताउँछन् र तीन वर्ष उनको नेपाल कम्युनिस्ट पार्टी सङ्क्षेपमा नेकपाको प्रचारप्रसार गरिदिएकोमा ओली–प्रचण्डहरूलाई धन्यवाद पनि दिन्छन्। सन् २०१३ मा ऋषिरामले आफ्नो दल दर्ता गराएका थिए। दासढुङ्गा घटनाको भोलिपल्ट घटनास्थल पुगेका ऋषिराम कट्टेललाई त्यहाँको दृश्य देख्दा यो दुर्घटना नभई षड्यन्त्रपूर्ण हत्या भएको लागेको थियो। किनकि दुर्घटनाग्रस्त गाडीको अगाडिको शीशा जस्ताको त्यस्तै थियो, फुटेको थिएन, चालकपट्टिको ढोका खुला र भण्डारीपट्टिको ढोका बन्द थियो। तर तीन दिनपछि भण्डारीको लाश दासढुङ्गाबाट ३२ किलोमिटर पर गाजापुरमा पाइएको, जीउमा कुनै घाउ, खत नभएको, बेल्ट बाँधिएको तर पाइन्ट नभएको, अन्डरवियर मात्र थियो जीउमा। तर मदनकी पत्नी राष्ट्रपति बन्दा मदनका पारिवारिक हितैषी केपी ओली दोहोरिएर प्रधानमन्त्री बन्दासमेत दासढुङ्गा काण्डलाई उजागर गर्नुको सट्टा छोपछाप गरेकोमा ऋषिरामलाई उदेक लागेको रहेछ। स्मरणीय छ, त्यतिखेरको छानबिन समितिले कट्टेलसँग समेत पटक–पटक बयान लिएको र बयानमा कट्टेलले दुर्घटना नभई हत्याको शङ्का लागेको बताएका थिए। कट्टेल आज पनि आफूलाई पुष्पलालको अनुयायी बताउँछन्। वामदेवले एमालेसँग छुट्टिएर माले बनाउँदा कट्टेल पनि वामदेवसँग लागेका थिए पछि वामदेव गौतम एमालेमा फर्किएपछि उनीहरूको बाटो अलग–अलग भयो। २०४९ सालको ५औं महाधिवेशनले मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)लाई अनुमोदन गरेपछि ऋषिरामले यसलाई विसर्जनवादको संज्ञा दिएका थिए।
वर्तमान ओली र प्रचण्ड समूहको खिंचातानी सबैलाई थाहै छ। पुस ५ गतेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेरो कि मेरो भन्दै घमासान चलिरहेकै बेला प्रचण्ड र माधव नेपालले पटक–पटक ऋषिराम कट्टेललाई मुद्दा फिर्ता लिनसमेत दबाब दिंदै आएका थिए तर पनि मुद्दा फिर्ता लिन राजी भएनन् र अन्ततः सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टीको वास्तविक मालिक ऋषिराम नै रहेको फैसला गरिदियो। यो फैसलापछि ओली, प्रचण्डहरू तीन वर्षअगाडिकै अवस्थामा अर्थात् एमाले र माओवादी दुई अलग पार्टीमा परिणत भए। सूर्य चिह्न पाएकोमा ओली समूह हर्षित देखियो भने प्रचण्डको हसिया–हथौडामा चमक देखिएन। अदालतको फैसला माधव, झलनाथहरूलाई निल्नु न ओकल्नु बनेको छ। अनिर्णयका बन्दी बनेका उनीहरूलाई ओलीलाई पुनः नेता मान्नु ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाउको अनुहार’ साबित भएको छ र लाजै पचाएर भएपनि सूर्य चिह्न र ओलीको पछि लाग्नुपर्ने अवस्था सृजना भएको छ। अहिले प्रचण्ड, माधवहरूले ऋषिरामलाई सत्तोसराप गरिरहेका छन्। ऋषिले त ‘तु डाल डाल, मै पात पात’ साबित गरिदिए।
ओलीको शुभ जन्मोत्सव समारोहमा अदालतले संसद् पुनस्र्थापना गर्नु र माधवको जन्मदिन (हैप्पी बर्थ डे)का दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई खारेज गर्नु संयोग मात्र होइन भन्ने कामरेडहरू पनि थुप्रै छन्। तर जसले जे अर्थ लगाए पनि अदालतको फैसला सबैले मान्नैपर्छ। नेपालको कम्युनिस्ट आन्दोलन अहिले जटिल मोडमा पुगेको छ। जुट र फुटको इतिहास नै छ सFम्यवादीहरूको। मोहन विक्रम सिंह, पुष्पलाल, तुलसीलाल, मनमोहन अधिकारी आदि सबै जुट र फुटबाटै जन्मिएका हुन्। यिनीहरू कहिल्यै लामो समयसम्म नेपाल कम्युनिस्ट पार्टी भनेर टिकेनन्। बाँदरको पुच्छरझैं सदैव नेपाल कम्युनिस्ट पार्टीको पुच्छरमा माले, एमाले, माओवादी, मोटो मशाल, पातलो मसाल गाँसेर, पुच्छर लगाएर हिंडे। सानो–ठूलो जुनसुकै पार्टीको अध्यक्ष र सर्वेसर्वा बन्ने लहडले गर्दा नै सानो मुलुक नेपालमा निर्वाचन आयोगमा १७० वटा पार्टी दर्ता छन्। एकाधबाहेक अन्यको नाम नै नेपालीले सुनेका छैनन्। अदालतले आफ्नो निर्णय सुनाएपछि अब बल नेताहरूको कोर्टमा आइपुगेको छ। अब त एमाले र माओवादी खेमामा लागेकाहरू कता–कता लाखापाखा लाग्ने हुन्, त्यो त अब चाँडै देखिहाल्नेछौं। यस बीचमा आम जनताको बीचमा यिनको सर्कस र कसरतले आम जनताको मनोरञ्जन गराइरहनेमा म विश्वस्त छु। सानो भनेर हेला नगर्नु भन्ने त उखान नै छ। कसैले नाम नसुनेका ऋषिरामले दुई तिहाइको धाक र रवाफ देखाउनेलाई एकै झटकामा चारोखाना चित्त गरेर यो कुरा प्रमाणित गरिदिए। हिस्स बूढी हरियो दाँत।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here