महाशिवरात्रि र विकृति

0

सञ्जय साह मित्र

महाशिवरात्रिकै राति भगवान् शिवको प्रादुर्भाव भएको मानिएको छ। एक दृष्टिकोणले महाशिवरात्रिको दिन नै देवाधिदेव महादेव शङ्करको जन्म दिवस हो। कतिपय ठाउँमा यो पनि मानिएको पाइन्छ कि शिवका लागि सबैभन्दा प्रिय दिन महाशिवरात्रि हो। यसै कारण अन्य दिन जेसुकै होस्, यस दिन शिवको दर्शन र पूजा गर्नुपर्दछ भन्ने मान्यता राख्नेहरूले महाशिवरात्रिलाई महत्वपूर्ण मान्दछन् वा लिन्छन्। यही कारण महाशिवरात्रिको दिन हरेक शिवालयमा भीड हुने गर्दछ। दर्शनार्थी, श्रद्धालु तथा शिवभक्तहरूले अनेक किसिमले शिवको साधना गर्ने मुख्य दिन यही भएकोले यस दिन विश्वका हिन्दूहरूले शिवको पूजा अर्चना गर्दछन्। आफ्नो मनोकामना पूरा गराउन शिवलाई खुशी बनाउने तथा शिवको आशीर्वाद पाउने प्रयास गर्दछन्।
शिव देवताहरूमा सबैभन्दा बढी नशालु पदार्थ सेवन गर्छन् भन्ने सामाजिक मान्यता बनिसकेको छ। यो यथार्थ होइन जस्तो लाग्दछ। मानव सभ्यताको विकासको क्रममा कतिपय मानिसले गाँजा, भाङजस्ता पदार्थको सेवन गर्न थालेपछि शिवलाई जोड्ने चलन आएको हुनुपर्छ। अहिले पनि आयुर्वेदमा विश्वास राख्ने वा धार्मिक –आध्यात्मिक प्रवृत्तिका मानिसहरूको प्रकृति कस्तो छ भने हरेक दिन, जुनसुकै ठाउँमा वा जस्तो किसिमको भोजन किन नहोओस्, ग्रहण गर्नु अघि देवीदेवतालाई आह्वान गर्दछन् अनि मात्र अन्न ग्रहण गर्दछन्। अन्न पनि देवता हो र आफूलाई तृप्त गर्न लागेकोमा धन्यवाद दिन्छन्। सम्भवतः यही संस्कृतिको उपजको रूपमा गाँजा र भाङजस्ता वनस्पतिबाट निस्कने नशालु पदार्थको सेवन गर्नेहरूले शिवलाई अर्पण गर्न थालेका होलान् र कालान्तरमा यस्ता शिवपूजकहरूको विश्वास वा पूजाको संस्कृतिले शिवलाई यस प्रकारका अनेक नशालु पदार्थको सेवन गर्ने देवताको रूपमा चिनाउन पुग्यो होला। जबकि शिवलाई सबैभन्दा मन पर्ने जल र बेलपत्र हो।
शिवको दर्शन वा पूजा गर्न जानेहरू वा घरमैं पूजा गर्नेहरू तथा शिव–व्रत लिएकाहरूले यस दिन जल र कम्तीमा बेलपत्र अवश्य चढाउँछन्। शिवलाई किसानहरूको पनि देवता किन मानिन्छ भने शिवको वाहन बसाहा हो। यो साँढे हो। साँढेसित किसानको सम्बन्ध हुन्छ। यसैले किसानले भगवान् शिवलाई आफ्नो उत्पादनको बालीको केही अंश चढाउने गर्दछन्। धानको मोर बनाएर किसानले शिवलाई चढाउँछन्। यसरी जल, बेलपत्र र बाली चढाउनुका साथै धतुरो, गाँजा, भाङ, अक्षता आदि अर्पण गर्दछन्। यस क्षेत्रमा प्रचलित विभिन्न लोकगीतहरूमा शिवलाई मेवा, मिष्ठान्न मन नपर्ने तथा गाँजा भाङमा रमाउने गरेको चर्चा पाइन्छ। थोरै भए पनि गाँजा र भाङलगायत पदार्थ सेवन गर्नुपर्ने सन्देश यसले समाजमा जान्छ जुन विकृति भएको मान्न सकिन्छ।पहाडी समुदायमा शिवरात्रिको विकृति केही बढी पाइन्छ। यस दिन गाउँ वा टोलमा युवकहरूले चन्दा उठाउने गर्छन्। अझ चन्दा सङ्कलन गर्न त कतिपय युवकहरूले बाटो नै छेक्ने गर्छन्। बाटो छेकेर यात्रुहरूसित रकम उठाई शिवको लागि धुनी बाल्छन् र सम्भव भएसम्म गाँजा, भाङ र अन्य यस्तै प्रकारका नशालु पदार्थ सेवन गर्दछन् शिवलाई पूजा गरेपछि। शिवको पूजा गरेपछि यस्ता नशालु पदार्थको सेवन गरेर होहल्ला गर्नेहरू पनि देखिन्छन्। यसमा चन्दा सङ्कलन गर्नु र पूजा वा प्रसादको नाउँमा नशालु पदार्थ सेवन गर्नु तथा होहल्ला गर्नुलाई विकृति नदेख्नेहरू पनि छन्। यस प्रकारको संस्कृति त हुनु नपर्ने हो तर पनि यसलाई पनि संस्कृति मान्नेहरू छन्। यस प्रकारको विकृतिले टोलछिमेक तथा अन्य मानिसमा कस्तो प्रभाव पर्दछ भन्ने विषयमा ध्यानै नदिइएको पाइएको छ।
शिवलाई नृत्य, सङ्गीत आदिको देवता पनि मानिएको छ। हिन्दू धर्मशास्त्र अनुसार त्रिदेव (ब्रह्मा, विष्णु र महेश) मध्ये महेश अर्थात् शिवको एउटा रूप नृत्यावस्था पनि हो। हातमा डमरू लिएर शिवले ताण्डव नृत्य गरेका छन्। ब्रह्मा र विष्णुले यसरी नृत्य गरेको कतै पाइँदैन। यसकारण शिवको पूजा वा यज्ञ हुँदा सम्भव भएसम्म यस प्रकारको व्यवस्था पनि गरिएको हुन्छ कि शिव नृत्य प्रस्तुत गरियोस्। यो छुट्टै कुरा हो कि हरेक ठाउँको संस्कृति फरक–फरक हुन्छ तर शिवको यो प्रकृति झन्डै विश्वव्यापी रहेको छ। शिवले नृत्य गरेको नाममा पनि अनेक किसिमको नृत्यलाई प्रोत्साहन गर्दै नृत्यमा अश्लीलता प्रदर्शन गर्दै समाजमा विकृति थप्नेहरूलाई कसरी रोक्ने होला ? विकृति रोक्नेहरूलाई धर्मको विरोध गर्न खोजेको भनी ठान्नेहरू पनि छन्।
धार्मिक आस्थामाथि आघात पु–याउनु हुँदैन। धर्म आस्थासित जोडिएको हुनाले यो निकै संवेदनशील हुन्छ। कतिपयले युवावस्थामा भगवान् शिवले त यस प्रकारको नशालु पदार्थ सेवन गर्दछन्, मानिसले पनि प्रसादको रूपमा लिंदा हुन्छ भन्ने सोच राख्दछन् र विस्तारै नशालु पदार्थको सेवनप्रति सकारात्मक बन्न पुग्दछन्। नशालु पदार्थको सेवन गर्न प्रोत्साहन गर्ने पर्वको रूपमा महाशिवरात्रिलाई स्वीकार गर्नुहुन्न। यस पर्वलाई शुद्ध आस्तिक वा धार्मिक पर्वको रूपमा समाजले मान्नुपर्दछ। सम्भव भएसम्म यसमा अझ शिक्षा र चेतनाको आलोकले विकृतिलाई सकेसम्म हटाउने प्रयास गर्नुपर्दछ।
नेपाली समाज विविधताले भरिएको छ। धार्मिक दृष्टिकोणले अधिकांश नेपाली हिन्दू समुदायकै रहेका छन् र नेपालमा लामो समयसम्म हिन्दू धर्मलाई राजधर्म मानिएको तथा देवाधिदेव महादेवलाई देशको प्रमुख देवता मानिएको इतिहास छ। यसै संस्कारबाट दीक्षित छौं र अहिले पनि हरेक वर्ष महाशिवरात्रिको दिन देशले बिदा दिने गरेको छ। महाशिवरात्रि अहिले पनि अघोषित रूपमा राष्ट्रिय पर्व हो। विभिन्न नाम र रूपमा शिवलाई अन्य धर्मावलम्बीहरूले पनि पूजा गर्दछन्। नेपाल र नेपालीको साझा आस्थाको केन्द्र रहेको पशुपतिनाथलाई हिन्दू धर्मशास्त्रमा साक्षात् शिवको रूप मानिएको पाइन्छ। यसले गर्दा महादेवको दर्शन गर्न पशुपति मन्दिरमा निकै ठूलो भीड जम्मा हुन्छ। देशको राजधानी काठमाडौंमा मात्र नभएर देशभरका शिवालयहरूमा आजको दिन यत्तिकै भीड हुन्छ। दर्शनार्थी, श्रद्धालु तथा भक्तजनादिले शिवलाई मान्नु, श्रद्धा गर्नु, पूजा गर्नु, आराधना गर्नु तथा भाकल गर्नु वा पूरा गर्नु आदि सबै हाम्रो संस्कृतिमा परिसकेको यथार्थमा शिवबाट वर्तमान युग र जीवनशैलीमा सिक्न सकिने कुरा के के हुन सक्दछ ? यस विषयमा पनि विचार गर्नु आवश्यक छ?
शिवलाई सर्वाधिक मन पर्ने महाशिवरात्रि पर्वलाई कसरी विकृतिमुक्त गर्न सकिन्छ ? यसतर्फ पनि शिवभक्तहरूको ध्यान जानु आवश्यक छ। सबैका साझा आस्थाका प्रतीक पशुपति वा महादेव वा शिवलाई तथा शिवरात्रिलाई कसरी हुन्छ आलोचनामुक्त बनाउनेतिर पनि ध्यान जान आवश्यक छ। शिवसित सम्बन्धित असल संस्कृतिको विस्तार गर्नुपरेको छ र शिवको नाउँमा प्रचलनमा रहेका कतिपय विकृति हटाउनुपरेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here