बितेको डिसेम्बरको अन्त्यमा चीनको वुहान शहरबाट शुरू भएको कोरोना महामारीको अवधि ९ महिना पुग्न लाग्दा यो महामारीबाट अछूत विश्वमा शायदै कुनै देश होला। रूस, चीन, अमेरिकालगायत धेरै मुलुकले कोरोनाविरुद्धको खोप बनाउने प्रयास गरिरहेका छन् र कतिपय मुलुकले बनाएको खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ। यसबीच कोरोनाबाट विश्वमा तीन करोडभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्। सोमध्ये ९ लाख ५० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। कोरोना वर्तमानमाभन्दा सुरुआती चरणमा निकै डरलाग्दो थियो। कोरोना के हो र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे धेरैलाई सामान्य ज्ञान पनि थिएन। त्यसैले त इटलीमा धेरैजना चिकित्सकको ज्यान गयो। यसो हुनुको कारण यो कसरी र कुन रूपमा सङ्क्रमण हुन्छ भन्नेबारे स्वास्थ्यकर्मीहरूलाई पनि पूर्णरूपमा जानकारी नभएर हो। रोगबाट बच्ने उपायहरूका बारेमा खोज, अनुसन्धान भइरहेको छ। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरा कोरोनाकालको खोज, अनुसन्धान होइन, यो त यसभन्दा पहिले पनि धेरै किसिमका महामारी आउँदा मानिसले अपनाइसकेको परम्परागत उपाय हो। चीनले हतारमा यही नीति अपनाएको थियो। आज हामी पनि त्यही बाटो अपनाउँदै छौं।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरूदेखि नै कोरोनाबाट बच्न लकडाउन, निषेधाज्ञा तथा सामाजिक दूरीका उपायलाई खारेज गरेका थिए। उनले यी उपायले अर्थतन्त्र चौपट हुने, सर्वसाधारणको दैनिकी अस्तव्यस्त बन्ने भन्दै लकडाउन र निषेधाज्ञालाई अस्वीकार गरेका हुन्। उनी मास्क पनि लगाउन चाहँदैनन्। चौतर्फी आलोचना भएपछि केही सार्वजनिक कार्यक्रममा उनी मास्कमा देखिंदा त्यो ठूलो समाचार बन्यो।  अन्ततः मास्कको विरोधमा एक्लै पर्नुभन्दा उनले ‘मास्क लगाउनु’ भनेर सर्वसाधारणलाई आह्वानसम्म गरिदिए। मास्क, लकडाउन र निषेधाज्ञाको विरोध गर्दा लामो समय ट्रम्प एक्लै परे। आफूभन्दा पुराना सङ्क्रमित मुलुकहरूलाई पनि उछिन्दै अमेरिका पहिलो नम्बरमा पुग्यो। आज अमेरिकामा ६८ लाखभन्दा बढी सङ्क्रमित छन् भने मृतकको सङ्ख्या २ लाख नाघिसकेको छ। कोरोनाबारे राष्ट्रपति ट्रम्पले लिएकोे गलत नीतिका कारण यति धेरै मानिसको ज्यान गएको भन्दै उनका विपक्षीहरूले आरोप लगाइरहेका छन्।
    ‘मरता क्या नहीं करता’ अर्थात् ‘भोकले मर्नुभन्दा रोगले मर्न तयार’ भन्नेहरू धेरै छन्। हुनत अब कोरोनाबाट बच्ने सावधानीबारे जानकारी भइसकेको र कस्तो अवस्थामा मात्रै कोरोना सङ्क्रमण घातक हुन्छ भन्नेबारे अधिकांशले थाहा पाइसकेकाले पनि उनीहरूलाई आँट आएको हुनुपर्छ। अहिले विश्वभरिबाटै लकडाउन र निषेधाज्ञाको विरोध भइरहेको छ। हाम्रो सरकारले अघोषितरूपमैं भएपनि असोज १ गतेदेखि मुलुकलाई खुला ग–यो। पिसिआर परीक्षणको दायरा सङ्कुचित गरिएको छ। यसको अर्थ सर्वसाधारण नागरिक आफैं सचेत बनेर, भाइरस नियन्त्रणका उपायहरू अवलम्बन गरून् भन्ने हो। मास्कको सवालमा पनि दुई खाले कुरा आइरहेका छन्। मास्क लगाउँदा स्वास्थ्यमा उल्टै नोक्सानी हुने तर्क गर्नेहरू धेरै छन् भने मास्कले भाइरस धेरै हदसम्म नियन्त्रण गर्छ भन्ने हामीले मान्दै पनि आएका छौं। जेहोस्, कोरोना सम्बन्धमा अन्ततः ट्रम्पकै पथमा विश्व मुखरित हुँदैछ। ट्रम्प पथमा चल्दा उच्च सावधानी अपनाउन नसके दुुर्घटना पनि निश्चित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here