निजगढ नपाद्वारा ७७ लाखको ढुङ्गा जफत


जीतलाल श्रेष्ठ, निजगढ, ३१ भदौ/
    निजगढ नगरपालिकाले विभिन्न स्थानमा थुपारेका ७७ लाख मूल्य बराबरको ढुङ्गा जफत गरेको छ।
    भदौ २८ गते कार्यपालिकाको बैठकले अवैधरूपमा खोलानाला, बगरबाट सङ्कलन गरिएको ढुङ्गा जफत गर्ने निर्णय गरेको थियो।
    नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लीलादेवी लामिछाने, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, सूचना अधिकारी रविन घिमिरेलगायतको टोलीले ढुङ्गा राखिएका स्थानको अनुगमन गर्दै जफत गर्न शुरू गरेको छ। हिजो मङ्गलवारसम्म ७७९ टिपर अवैध ढुङ्गामा इनामेल रङले चिह्न लगाउँदै जफत गरेको छ।
    निजगढ नपा–१ भरतगंजसिगौलमा १ हजार १७६.६० घनमिटर, वडा नं ४ मा ८ हजार २२६ घनमिटर, वडा नं ९ मा १ हजार १०५.५० घनमिटर गरी हालसम्म १० हजार ५०८.१० घन मिटर ढुङ्गा जफत गरिसकेको छ। जफत गरिएको ढुङ्गाको अनुमानित मूल्य रु ७७ लाख ९० हजार रहेको छ।
    अवैध ढङ्गले नदीजन्य पदार्थ सङ्कलन/उत्खनन नगर्न नगरपालिकाले सार्वजनिक सूचना गर्दै आएकोमा अटेर गरी ढुङ्गा सङ्कलन/उत्खनन जारी भएपछि नगरपालिकाले यो कदम उठाएको नगरप्रमुख खनालले बताए।
    लालबकैया, धन्सार खोलाबाट अवैधरूपमा ढुङ्गा सङ्कलन हुने गरेको छ। असारदेखि असोज १ गतेसम्म तीन महीना खोलामा प्रवेश गर्न र नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न बन्देज छ। तर दिनरात खोलाबाट ढुङ्गा चोरी कार्य जारी रहेको निजगढ नपा–१ का दीपक खड्काले बताए।
    यसरी चोरी–सङ्कलन भएको ढुङ्गा सिमरा, जीतपुर, कलैया, वीरगंज, डुमरवानामा महँगोमा बिक्री हुने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here