पर्सामा सीमा सिलः आवतजावत खुला

प्रमोद यादव, पंचगावाँ, ११ भदौ/
    ६ महीनादेखि लकडाउन, निषेधाज्ञा जारी भएसँगै नेपालको भारतसँगको सीमा सिल भएपनि खुला सीमाबाट मानिसहरूको आवतजावत र सामान ल्याउने–लैजाने क्रम जारी छ।
    सीमा सिल भएको कारण मूल सडकबाट मानिसहरूको आवतजावत नभए पनि खेत र खुला सीमाका अन्य क्षेत्रबाट जाने र आउने क्रम यथावत् छ। अहिले सीमा आरपार गर्नेहरू क्वारेन्टाइनमा बस्नुपरेको छैन। नेपाली मानिस निर्बाधरूपले भारतीय सीमावर्ती बजारमा जाने र किनमेल गरेर फर्कने गरेका छन्। मुख्य सडकमा सशस्त्र र नेपाल प्रहरीको निगरानी भएकोले मानिसहरू अन्यत्रबाट आवतजावत गरिरहेका छन्।
    मानिसहरूको आवतजावतसँगै तस्करी पनि मौलाएको छ। अमरपट्टि, झौवा, प्रसौनीभाठा, हस्वा, धोरे, खेसरहा, फजतवा, सबैठवा, भिस्वा, टिहुकी, बुढगाईं, मिर्जापुर, असवारी, दसौता, पाँडेपुर, पिडारीगुठी, महादेवपट्टि, बलुवा आदि ठाउँबाट चल्ला, राँगा/भैंसी, खाद्यान्न, लत्ताकपडाको तस्करी भइरहेको छ।
    सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सीमा क्षेत्रमा कडाइ गरेको दाबी गरेका  छन्। उनले सशस्त्र प्रहरी खटेको सीमानाकाबाट आवतजावत नभएको बताए। खुला सीमाको कारण मुख्य नाकाबाहेकका क्षेत्रबाट आवतजावत हुन सक्ने कुरालाई उनले अस्वीकार गरेनन्। सप्रउ खड्काले नागरिक समाज, जनप्रतिनिधिसमेतले यसमा चासो देखाउनुपर्ने बताए। अहिलेको बेलामा खुला सीमाबाट ओहोरदोहोर दुवै देशका लागि घातक हुने उनले बताए।
    सीमामा खटेका सशस्त्र र नेपाल प्रहरीले तस्करीका सामानलाई छुट दिएका कारण नाकाबाट मानिसहरूको ओहोरदोहोर बढेको हो। तस्करीका सामानलाई नरोक्ने प्रहरीले आममानिसको आवतजावतलाई नियन्त्रण गर्न नहुने स्थानीयको भनाइ छ। यसअघि पनि पटक–पटक यसै कुरालाई लिएर सशस्त्र र स्थानीयबीच झडप पनि भइसकेको छ। सशस्त्रले मुख्य नाकाबाट हुने आवतजावत रोकेर अन्यतिर आँखा चिम्लिने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here