ओमप्रकाश चौधरी, सेढवा, ८ भदौ/
    लामो समयसम्म लकडाउन भएको र अहिले निषेधाज्ञाको कारण पर्साको ग्रामीण क्षेत्रका अतिविपन्न, विपन्न, दैनिक ज्यालादारी गरेर घर गुजारा गर्ने परिवारले निकै समस्या झेल्नुपरेको छ।
    ५ महीनादेखि जारी लकडाउन र निषेधाज्ञाले काम गर्न असमर्थ यो समुदायलाई अहिले दैनिक गुजाराको लागि पनि समस्या भएको छ।
    जगरनाथपुर गापा–३ बिजवनिया निवासी गिरजा महरा चमारले लामो समयदेखि घरमैं बस्नुपरेको कारण बिहान–बेलुका छाक टार्न समस्या भएको बताए। उनले लकडाउन शुरू भएपछिको समयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले राहत वितरण गरेको तर अहिले पूर्णरूपमा बेरोजगारी भएर घर बस्दा कुनै पनि निकायले राहत वितरण पनि नगरेको र गरीबको बारेमा सोची पनि नदिंदा समस्या भएको बताए।
    उनले परिवार र आफू भोकभोकै बस्नुपरेको दुःखेसो पोखे। जिल्लाबाहिर गएर मकवानपुर, चितवनमा काम गर्ने अवसर गुमेको र घरमा बसेर खान समस्या भएको उनले बताए। लामो समयदेखिको बन्दाबन्दीले ऋण पैंचो गरेर केही महीना गुजारा गरे पनि अहिले ऋण सापटीसमेत पाउने अवस्था नभएको र भोकै बस्नुपरेको बताए।
    लकडाउनको कारण पर्साका ग्रामीण क्षेत्रमा ठूलो सङ्ख्यामा युवाहरू आएर बसेका छन्। विभिन्न स्थानमा रोजगारमा संलग्न उनीहरू कोरोना सङ्क्रमण फैलिएसँगै लकडाउन भएको कारण घर फर्केका हुन्। अहिले उनीहरूको अवस्था पनि नाजुक बन्दै गएको छ। आर्थिक समस्याले बेरोजगारी युवाहरू पीडित छन्। गाउँघरमा काम छैन, बाहिर जान पाइँदैन, यो अवस्थामा थुप्रै युवा विचलित भएका छन्।
    जीराभवानी गापा–१ शान्तिनगरका तीर्थबहादुर श्रेष्ठ बुबासँगै रोजगार छाडेर घर आएको ५ महीना भयो अहिले परिवारको खर्च टार्नलाई पनि समस्या भइरहेको उनले बताए। काममा जाने अवस्था छैन, घर बसेर खान पाइने अवस्था नभएकोले जीवन कष्टकर भएको श्रेष्ठले बताए।
    अर्की एकजना महिलाले लकडाउनअघि दुईजना छोराले बाहिर कमाएर मासिक रु २० हजार घर खर्च पठाउने गरेकोमा अहिले विगत पाँच महीनादेखि घरमैं थन्किएर बस्दा आर्थिक समस्या भएको बताइन्। उनले छोराहरूको अनुपस्थितिमा ६/७ महीनालाई पुग्ने खाद्यान्न सञ्चित गरेर राखेको तर लकडाउन र निषेधाज्ञाले छोराहरू जागीर छाडेर घर बस्नुपरेको अवस्थामा सञ्चित खाद्यान्नसमेत सकिएर समस्या भएको बताइन्। उनले मध्यमवर्गीय गरीबहरूको प्रायः यस्तै खाले समस्या रहेको बताइन्।
    आफू समस्याग्रस्त भएको र अर्का पनि सोही समस्याबाट पीडित भएको कारण सहयोग माग्न पनि समस्या भएको उनको भनाइ छ। कोरोनाको सङ्क्रमणले भन्दा भोकले मर्ने दिन निकट आउन लागेको उनको प्रतिक्रिया छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here