प्रस, रौतहट ३ भदौ/
    जिल्ला प्रहरी कार्यालय, रौतहटमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मङ्गलवार पत्रकार सम्मेलन गरी पत्रकार र प्रशासनको भूमिका मिल्दोजुल्दो रहेकाले सुमधुर सम्बन्ध कायम राख्नुपर्ने बताएका छन्।
    उनले कोभिड–१९ सङ्क्रमण कम गर्न प्रशासन र प्रहरीको प्रमुख भूमिका रहने बताए। जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले अस्पतालमा पिसिआर परीक्षण विधिलाई अगाडि बढाउँदै आइसोलेशन निर्माणतर्फ केन्द्रित रहेको बताए। कोभिड–१९ लाई प्राथमिकतामा राखे पनि नियमित कार्य पूर्णरूपमा सञ्चालन राख्ने उनले बताए। प्रजिअ यादवले तस्करी, मानव ओसारपोसार र लागूऔषध तस्करीविरुद्ध सीमा सुरक्षा र शान्ति सुरक्षालगायतका कार्यमा कुनै कमी आउन नदिने बताए।
    पत्रकारहरूको प्रश्नको जवाफ दिंदै प्रजिअ यादवले लकडाउन रहेसम्म सीमानाका बन्द रहने स्पष्ट पारे। भारतमा कोभिड–१९ को प्रकोप बढिरहेकाले सीमानाका खुला भए नेपालमा झन् अप्ठ्यारो बढ्ने बताए। उनले किसानहरूलाई भारतबाट मल ल्याउन छुट दिए पनि सोको दुरुपयोग हुने आशङ्का व्यक्त गरे।
    सञ्चारकर्मीहरूले जिल्लाका बन्जराहा, औरैया, लक्ष्मीपुर, बेलबिक्षवा, बङ्कुल, जटहरा, महादेवपट्टिलगायतका नाकाहरूबाट दैनिक मानिसहरूको आवतजावत बढेको र भारतीय सामग्री अवैध तरीकाबाट नेपाल भित्रिरहेकाबारे प्रजिअलाई जानकारी गराएका थिए।
    सञ्चारकर्मीहरूले टिकुलिया, लालबकैया पुल चाँडै निर्माण गर्न आग्रहसमेत गरेका थिए। श्रीराम सुगर मिल बन्द भएपछि हजारौं किसान बेरोजगार भएका, जिल्लामा अवैधरूपमा सञ्चालित क्रसर उद्योगले मापदण्डविपरीत नदी उत्खनन गरिरहेकामा सो रोक्न सुझाव दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here