जिम्मेवारी निर्वाहको खाँचो

कोरोना सङ्क्रमण नियन्त्रणका लागि उपाय नै नभएको होइन। सहज उपायहरू छन्, तर उपाय मात्रै पत्ता लागेर भएन, त्यसलाई कार्यान्वयन पनि गर्नुपर्छ। कार्यान्वयनका लागि सम्बन्धित पक्षहरू जिम्मेवार देखिएका छैनन्। कोरोना भाइरसको महामारी नियन्त्रण गर्र्ने नै हो भने अन्य महामारीभन्दा सजिलो छ। झाडाबान्ता, भाइरल ज्वरोभन्दा पनि कोरोना नियन्त्रणमा सहज छ। यसको सङ्क्रमण लुतोभन्दा पनि कमजोर छ। तर कोरोना न्यूनीकरणका लागि मानिसले बेवास्ता गरेर आफ्नो जिम्मेवारी पूरा नगरेका कारण आज विशाल रूप लिंदैछ। जसलाई बेवास्ता गरिन्छ, उसले विशाल रूप त लिन्छ नै। छतमा उम्रिएको पीपलको बोटलाई वास्ता नगर्ने र समयमा नउखेल्ने हो भने यति विशाल रूप लिन्छ कि एक दिन उसले भवन नै ध्वस्त बनाइदिन्छ।
हावा वा पानीबाट वल्लो गाउँदेखि पल्लो गाउँसम्म सजिलै सङ्क्रमण हुन सक्ने धेरै रोग छन्। तर कोरोना भाइरस सामाजिक दूरी नअपनाउँदाबाहेक टाढासम्म सर्न सक्दैन। थुक वा –याल, सिङानको छिटा नउडाउने हो भने हावाले नजीकैको व्यक्तिलाई पनि सार्न सक्दैन। झिङ्गा, उपियाँ, लामखुट्टेबाट कोरोना सरेको पुष्टि भएको छैन। अहिलेसम्मको खोज अनुसन्धान अनुसार कोरोना –याल, सिङान र दिसापिसाबको माध्यमबाट सर्ने भाइरस हो। यसले नयाँ व्यक्तिको शरीरमा प्रवेश गर्न नाख, मुख वा आँखामा पुग्नै पर्छ। ‘कोरोनाबाट बच्नका लागि मास्क लगाउने, समयमा हात धुने, शारीरिक दूरी कायम राख्ने, हात नधोई अनुहार नछुने, दैनिक प्रयोग गर्ने कपडा, घर तथा शौचालय र प्रयोग गर्ने सवारीसाधनको सरसफाइमा विशेष ध्यान दिने’ जुन कुरा संसारका अधिकांश मानिसलाई कण्ठस्थ भइसकेको छ। कोरोना लागे पनि यसले विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र दीर्घरोगीलाई अप्ठ्यारोमा पारेको देखिन्छ। लक्षण नदेखिएका व्यक्तिमा यसले समस्या नगरे पनि ऊबाट अन्य व्यक्तिमा सहज सङ्क्रमण हुने र अरूलाई क्षति पु–याउन सक्ने भएकाले एकजना मात्रै सचेत भएर हुँदैन, सबैजना सचेत र सुरक्षित रहनुपरेको हो। लक्षणसहितका सङ्क्रमितले समयमा राम्रो उपचार पाउन सकेमा कोरोना पराजित हुने देखिएको छ। मृत्यु हुनेभन्दा पनि कोरोनालाई जितेर घर फर्किने दीर्घरोगीको सङ्ख्या धेरै छ।
‘स्वास्थ्य मापदण्ड नअपनाउँदा वा असावधानीले भाइरस सर्छ र समयमा सही उपचार पाउन नसके बिरामीको मृत्यु हुन्छ’ यसमा दुई मत छैन। स्वास्थ्य सावधानी अपनाउनुपर्ने नागरिकको आफ्नो दायित्व हो। प्रहरी देखे मात्रै मास्क लगाउने प्रवृत्तिका मानिसले आफ्नो घरभित्र कतिको सावधानी अपनाउँला सहजै अनुमान गर्न सकिन्छ। कोरोना परीक्षणले रोग न्यूनीकरण हुँदैन, यो सङ्क्रमणको गति तथा क्षेत्र पहिचान गर्ने र जनचेतना फैलाउने माध्यम मात्रै हो। परीक्षण गर्नुभन्दा पनि हरेक व्यक्तिमा कोरोना छ भन्ने सम्झेर सावधानी अपनाउनु सर्वसाधारणको दायित्व हो। हाम्रो मुलुकमा सामान्य रोगको समेत उपचार नपाएर नागरिकले ज्यान गुमाइरहेका छन्। उपचारै पाए पनि नेपालमा स्वास्थ्य सेवा सामान्य अवस्थाका नागरिकको हैसियतभन्दा माथि छ। नागरिकको स्वास्थ्य सेवा सरकारको जिम्मेवारी हो। कोरोनाको नाममा हुने अरू शीर्षकभन्दा बिरामीको सहज तथा निश्शुल्क उपचारको व्यवस्था सरकारले गर्नुपर्छ। यसो भए मात्र सङ्क्रमितको मृत्युदर स्वतः न्यूनीकरण हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here