प्रस, वीरगंज, २ फागुन/
वीरगंजका दुईजना विद्यार्थीले माईस्थान पार्कमा गरीब, विपन्न परिवारका बालबालिकाहरूलाई निश्शुल्क ट्युशन शुरू गरेका छन् । डिप्लोमा इन सिभिल इन्जिनीयरिङमा अध्ययनरत गुनगुन सहनी र आकाश गुप्ताले डेढ सातादेखि यो अभियान सञ्चालन गर्दै आएका छन् ।
आर्थिकरूपमा कमजोर, गरीब, विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षाप्रति आकर्षित गर्न उनीहरूले कापी, कलम पनि उपलब्ध गराएका छन् । यसका साथै ट्युशनमा बालबालिकाहरू टिकाउ रहनका लागि चकलेट आदि खानेकुराको पनि व्यवस्था गरेका छन् । कक्षा १० मा सँगसँगै अध्ययन गरेका सहनी र गुप्ताले अहिले डिप्लोमा इन सिभिल इन्जिनीयरिड्ढो अध्ययन गरिरहँदा समाज परिवर्तनमा आफ्नो पनि सहभागिता देखाउन यो अभियान शुरू गरेको बताएका छन् ।
शिक्षाबाट कोही वञ्चित हुनु नपरोस् उद्देश्यका साथ उनीहरूले माईस्थान पार्कमा दैनिक डेढ घण्टा निश्शुल्क ट्युशन दिंदै आएका छन् । विद्यालय जान नसकेका बालबालिकाहरूलाई आधारभूत शिक्षा प्रदान गरेर विद्यालय भर्ना अभियानमा सघाउ पु¥याउने आफूहरू लक्ष्य रहेको उनीहरूले बताए ।