लम्सालको लागि न्याय माग गर्दै वीरगंजमा प्रदर्शन

प्रस, वीरगंज, ६ फागुन/
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा मृत फेला परेकी प्रकृति लम्साललाई न्यायको माग गर्दै मङ्गलवार वीरगंजमा प्रदर्शन भएको छ । वीरगंज कलेज अफ लका विद्यार्थी तथा विद्यार्थी सङ्गठनका नेताहरूको सहभागितामा आज साँझ घण्टाघरमा प्रदर्शन भएको हो ।

नेविसङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरूले लम्सालको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । घण्टाघरबाट निकालिएको ¥यालीले वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयअगाडि पुगेर प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई रोक्न खोज्दा केहीबेर घम्साघम्सी परेको थियो ।

नेपालस्थित भारतीय दूतावासले यो घटनामा दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरूलाई पुनः कक्षामा फर्कन आग्रह गरेको छ । घटनाका आरोपी पक्राउ परेको र उनीहरूविरुद्ध आवश्यक कानून कारबाही हुने भन्दै दूतावासले घटनाबारेमा विश्वविद्यालयसँग निरन्तर सम्पर्क स्थापित गर्दै आएको र नेपाली विद्यार्थीहरूको सुरक्षाको जिम्मेवारी लिएको आज विज्ञप्ति जारी गर्दै जनाएको छ । यस अघि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको थियो र लगत्तै उपस्थितिका लागि सूचित पनि गरेको थियो ।

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको होस्टेलमा गत आइतवार नेपाली विद्यार्थी लम्साल मृत भेटिएकी थिइन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्