प्रस, वीरगंज, ६ फागुन/
रिलिफ सोसाइटी अफ कमर्सको ३३औं वार्षिकोत्सव मङ्गलवार सम्पन्न भएको छ । वीरगंजका समाजसेवी रूँगटा वेलफेयर सोसाइटीका संस्थापक मुरलीधर रूँगटाले रिलिफ सोसाइटी अफ कमर्सको ३३औं वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए । उनले सामाजिक काममा रिलिफले काम गर्दै आएको बताए ।
कार्यक्रममा उनले यस वर्षको स्व बिहारीलाल लाठ कर्मवीर सम्मानबाट ह्दयनारायण चौधरीलाई सम्मानित गरे । यसैगरी, रिलिफले शिक्षक तथा साहित्यकारमा प्रमोद पाण्डे, अनीता साह, नन्दकिशोर गोयल र महिला उद्यमी यशोदा गजुरेललाई सम्मानित गरेको थियो । यसैगरी, वार्षिकोत्सवको अवसरमा रिलिफ सोसाइटी अफ कमर्स वीरगंजद्वारा राधादेवी मेमोरियल ट्रस्टबाट प्रदान गरिंदै आएको सिलाइ मेशीन १५ थान वितरण गरिएको थियो । ११ जना महिलालाई र चार थान सिद्धेश्वर संस्कृत मावि कलैया, बाराका प्रअ छविरमण सुवेदीलाई हस्तान्तरण गरिएको थियो । यसैगरी, आगामी चार वर्षको लागि उपाध्यक्षमा निर्वाचित नारायण रूँगटालाई प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले शपथ गराएका थिए ।
रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा आशा किरण संस्थाका सुनील गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारू, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, जसपाल सिंह, धु्रवसिंह ठकुरी, अभिषेक चौधरीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण रिलिफ सोसाइटी अफ कमर्सका महासचिव नीरज अग्रवालले गरेका थिए ।