प्रस, वीरगंज, ३ माघ/
वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व चालू आवको छ महीनामा गत आवको सोही अवधिको तुलनामा कम सङ्कलन भएको छ। वीरगंज महानगरपालिका राजस्व महाशाखाले गत आव २०८०/८१ को साउन–पुससम्म रु २६ करोड ९० लाख ९१ हजार ४४४ राजस्व सङ्कलन भएकामा चालू आवको पुस मसान्तसम्म २६ करोड १ लाख ७० हजार ८८२ सङ्कलन भएको जनाएको छ।
राजस्व महाशाखा अधिकृत नवराज थापाले चालू आवको पुस मसान्तसम्म सम्पत्तिकर रु १० करोड ४६ लाख ३४ हजार ८०१ सङ्कलन भएको बताए। उनले गत आवमा सम्पत्तिकर रु १० करोड ४९ लाख ८३ हजार ३४० सङ्कलन भएको जानकारी गराए।
यसैगरी, चालू आवको पुस मसान्तसम्म भूमि/मालपोत कर ५५ लाख १७ हजार १५, घरबहाल कर तीन करोड ४६ लाख ८० हजार ७८४, बहाल बिटौरी कर १३ लाख ४९ हजार ४३५, सवारीसाधन कर छ लाख ९२ हजार ९०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर छ हजार ९००, बाँडफाटबाट प्राप्त हुने विज्ञापन कर रु २५ लाख एक हजार ८५०, अन्य मनोरञ्जन कर छ लाख ८५ हजार १९२, व्यवसाय रजिस्टे«शन दस्तुर एक करोड ४० लाख १४,५०२, आखेटोपहारमा लाग्ने कर एक करोड तीन लाख ३४ हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय दुई करोड १० लाख चार हजार ६२८, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयाल्टी ६४ लाख ४२ हजार ५००, निजी धाराबापतको शुल्क १० हजार ५०, अन्य सेवा शुल्क एक करोड ७४ लाख ७६ हजार ४८४, परीक्षा शुल्क ४३ हजार ७००, अन्य प्रशासनिक सेवा शुल्क २६ लाख ८३ हजार ५४७, नक्शापास दस्तुर एक करोड ७३ लाख ६२ हजार ७५४, सिफारिश दस्तुर ९३ लाख ६७ हजार ५०२, व्यक्तिगत घटना दर्ता दस्तुर १२ लाख ७७ हजार ८९८, नाता प्रमाणित दस्तुर आठ लाख ७१ हजार ६२०, अन्य दस्तुर ८७ हजार ९३०, प्रशासनिक दण्ड जरिवाना र जफत २१ लाख ४९ हजार ५९७, बेरुजू २९ लाख ६७ हजार ५५० गरी चालू आवको पुससम्म २६ करोड एक लाख ७० हजार ८२२ सङ्कलन भएको राजस्व महाशाखा अधिकृत थापाले बताए।
चालू आवको पुस महीनासम्म महानगरको राजस्व सङ्कलन गत आव २०८०/८१ को तुलनामा करीब ९० लाख कम छ। मङ्सिर महीनामा महानगरको राजस्व अघिल्लो वर्षको तुलना सो अवधिमा दुई करोड आठ लाखको अन्तर थियो।
राजस्व महाशाखा अधिकृत थापाले गत महीना चौमासिक राजस्व बुझाउने क्रममा सवारीसाधन र कबाडी करसम्बन्धी विवाद भएकोले कर सङ्कलन नहुँदा दुई करोड आठ लाखको फरक भएको बताए।