♦कुमार रुपाखेती डिभोर्स मुबारक पार्टी
बर्थ डे पार्टी, विवाह पार्टी, बेबी सावर, एनिभर्सरी पार्टीबारे हामी सबैले सुनेका छौं । तर यहाँ म तपाईंलाई बिल्कुलै नौलो र नयाँ तलाक पार्टीबारे जानकारी दिन चाहन्छु । अस्ति अमेरिकामा बस्ने पाकिस्तानी दम्पतीको डिभोर्स (तलाक) भयो । तलाक दिने ३५ वर्षीया खुबसुरत महिलाले आफन्त, मित्रहरूलाई डिभोर्स पार्टी दिन खुशियाली मनाउने निधो गरिन् । डिभोर्स पार्टी एउटा महँगो होटेलमा भव्यरूपमा सम्पन्न भयो । जहाँ आफन्त, शुभचिन्तकहरूले महिलालाई ढेरसारा बधाई र उपहार दिए । ठूलो सङ्ख्यामा उपस्थित महिला, पुरुषहरू ‘डिभोर्स मुबारक’ लेखिएको त्यो पार्टीमा जमेर रमाइलो गरे । डिभोर्स दिएकी महिलाले होटलको आर्कषक हलमा ‘शीला, शीला की जवानी’ तथा ‘सोना कितना सोना है’ भन्ने गीतमा खूबै नाचिन् । महँगो लहङ्गामा सजिएकी डिभोर्सी महिला रूपरङ्गमा भारतीय हिरोइनभन्दा सुन्दर देखिन्थिइन् । महिला, पुरुष मित्रहरूले उनलाई उपहारमा सेक्सुअल सामग्री र ढालसमेत उपहार दिए । अहिले यो भिडियो भाइरल भएपछि चर्चामा छ ।
मान्छेहरूले यो भाइरल भिडियोमा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया दिएका छन् । त्यस्तै, प्रेमिल जोडी एकापसबाट छुट्टिंदा अथवा मायाप्रीति टुटेर अलग हुँदा आजकल ‘ब्रेकअप पार्टी’ दिने चलनसमेत मौलाएको छ । मलाई समेत डिभोर्स पार्टी मुबारक भन्न मन लाग्यो ।
त्यस्तै, एउटा हाइटेक विवाहसमेत चर्चामा छ । भारतीय पण्डित राजेन्द्र पाण्डेयले भारतबाटै टोरन्टोमा एक जोडीको अनलाइन विवाह गराए । भारतबाट मन्त्र पढ्दै आठ हजार माइल टाढा टोरेन्टोमा अनलाइन विवाह सफलतापूर्वक भएको भिडियोसमेत भाइरल भएको र निकै चर्चा बटुलेको छ । भारतीय पण्डितले भारतमैं बसी क्यानडास्थित आफ्ना जजमान जोडीलाई विवाह मन्त्रसहित गराएको यो विवाह करीब चार घण्टामा सम्पन्न भयो । पुरोहितलाई जजमानले राम्रो दानदक्षिण उताबाट खातामा जम्मा गराइदिए र प्रत्यक्ष आशीर्वाद भारत आउँदा गुरुजीलाई भेटेर लिने भने ।
नेपाल राष्ट्र बैंक र नेपाली नोटको कहानी
राजा महेन्द्रद्वारा विसं २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको समुद्घाटन भएको थियो । सोही दिनलाई राष्ट्र बैंकले स्थापना दिवस मानिन्छ । स्थापना दिवसका दिन बैंकले कर्मचारीहरूलाई नगद रकम दिएर प्रोत्साहन गर्छ । स्थापना हुँदा नेपाल राष्ट्र बैंकको पूँजी (मूल धन) रु एक करोड थियो । राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि सदर मुलुकीखानाले २०१३ सालसम्म नेपाली रुपैयाँ छपाइ ग¥यो । जसमा जनकराज पण्डितपछि भरतराज पण्डित र नरेन्द्रराज पण्डितको हस्ताक्षर थियो । यी सबै पण्डित एकापसमा नाता साइनोका थिए । २००२ देखि २०१९ जेठ २९ गतेसम्म निष्कासन भएका नेपाली रुपैयाँलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो । नेपालका प्रथम गर्भनर हिमालय शमशेर हुन् । प्रथम गर्भनरको हस्ताक्षरसहित रु १, ५, १० र १०० दरका नोटहरू चलनचल्तीमा आएका हुन् । नेपालमा हालसम्म १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० दरका गरी ११ दरका रुपैयाँ निष्कासन भएका देखिन्छन् । अचेल नेपाल राष्ट्र बैंकले रु १, २, २५ र २५० दरका नोट छाप्न र निष्कासन गर्न बन्द गरिसकेको छ । विसं २००२ असोज १ गतेदेखि नेपालमा पहिलो कागजी नोट चलनचल्तीमा आयो । राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमशेरले सदर मुलुकीखानामार्फत चलनचल्तीमा ल्याएको यो पहिलो कागजी रुपैयाँमा पण्डित जनकराजको हस्ताक्षर थियो । नेपाली मुद्राको चलनचल्ती बढाउन विदेशी विनिमय नियन्त्रण ऐन, २०२३ सालसम्म मुलुकभरि लागू गरियो ।
त्यस्तै, नेपाली नोटको चलनचल्ती बढाउन भारतीय मुद्रा विस्थापित गर्न राजा महेन्द्रले मुलुकका ५० भन्दा बढी जिल्लामा एकैपटक सयकडौं सटही काउन्टर, घुम्ती सटही काउन्टरमार्फत भारतीय रुपैयाँ सटही गर्ने व्यवस्था गरे । राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि राष्ट्र बैंकले गर्ने थुपै्र कार्य नेपालको जेठो बैंक नेपाल बैंकले गथ्र्यो । नेपालको सबैभन्दा जेठो, पुरानो नेपाल बैंकले नेपाली व्यापारीहरूलाई कर्जा दिने, बचत गर्ने, व्यापार गर्ने बानी लगायो ।
माओवादी द्वन्द्वकालमा माओवादीले थुप्रै बैंक लुटे, धेरै स्थानमा सुरक्षा अभावका कारण बैंकहरू बन्द भए तर कतै पनि नेपाल राष्ट्र बैंक बन्द भएन । किनकि नेपाली सेनाले राष्ट्र बैंकको बलियो सुरक्षा गरेको छ । राष्ट्र बैंकको सानो तहको कर्मचारीको रूपमा प्रवेश गरेका महाप्रसाद अधिकारी अहिले राष्ट्र बैंकका गभर्नर छन् । माओवादी अर्थमन्त्री जनार्दन शर्मालाई समेत चुनौती दिने वर्तमान गभर्नर महाप्रसाद अब्बल दर्जाका सबल गभर्नर मानिन्छन् । नेपालका अन्य सबै बैंक नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार चल्छन् । दैनिक नगदी कारोबार र सहुलियतका खातिर सबै बैंकले राष्ट्र बैंकमा खाता खोलेका हुन्छन् । रकम बढी भएमा राष्ट्र बैंकमा जम्मा गर्ने र रकम घटी या नपुग भएमा राष्ट्र बैंकबाट ल्याएर वाणिज्य बैंकहरू चलायमान हुन्छन् । अहिले पनि नेपालमा राज्यले निर्धारित गरेकोभन्दा बढी भारतीय रुपैयाँ लिएर हिंड्न बन्देज छ । मुद्रा सटही गर्ने थुप्रै सटही काउन्टर छन् । तर वीरगंजमा सञ्चालित सटही काउन्टरहरूले राष्ट्र बैंकको नियमविपरीत सटही शुल्क मनलाग्दो असुल्छन् । राष्ट्र बैंकको निर्देशन अनुसार भारु १०० को बट्टा ०.१५ पैसा मात्र हो । नेपालको केन्द्रीय बैंक हो, नेपाल राष्ट्र बैंक । जसले मौद्रिक नीति निर्धारण गर्छ र नेपालका सबै बैंकलाई नियन्त्रणमा राख्छ । अझैसम्म नेपाल राष्ट्र बैैंकले बडादशैंताका नयाँ नोट वितरण गरेर बडादशैंको रौनक बढाउँछ । दशैंमा नयाँ नोट वितरणका विरोधीहरू पनि छन् । दशैंताका खसीबोका खरीद गर्ने होडबाजी गरेझैं नयाँ नोट लिन राष्ट्र बैंकमा नागरिकको भीड र होडबाजी देखिन्छ ।