हरेक महिलालाई महीनावारी हुन्छ, तर यससँग सम्बन्धित लक्षणहरू सबैमा फरकफरक हुन सक्छन्। कतिपयलाई महीनावारी निकै पीडादायी हुन्छ भने कतिपयलाई यो अवधिमा रक्तस्रावबाहेक अरू कुनै दुखाइ वा असहज अनुभव हुँदैन।
महीनावारीको समयमा मुखमा घाउखटिरा आउँछ भने यो लेख तपाईंको लागि हो। यस्तो हुनुको कारण र घरेलु उपचारबारे थाहा पाउनुपर्छ।
महीनावारीको समयमा किन आउँछ मुखमा घाउ–खटिराः महीनावारीको समयमा हर्माेनको स्तरमा उतारचढाव हुन्छ, जसले शरीरमा धेरै परिवर्तन ल्याउँछ। यसले मुखको भित्री भागलाई असर गर्छ र घाउ–खटिरा निम्त्याउन सक्छ। महीनावारीको समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ, जसका कारण मुखमा ब्याक्टेरिया र भाइरस सजिलै बढेर घाउ–खटिरा निम्त्याउन सक्छ। महीनावारीको समयमा रगतको कमीका कारण शरीरमा केही आवश्यक भिटामिन र मिनरल्सको कमी हुन्छ, जसले गर्दा मुखमा घाउ–खटिरा आउँछ। त्यस्तै, महीनावारीको समयमा तनाव बढ्दा पनि मुखमा खटिरा आउने गर्छ।
घरेलु उपचारः मनतातो पानीमा अलिकति नुन मिसाएर कुल्ला गर्नुपर्छ। नुनको एन्टिसेप्टिक गुणले खटिरा सफा गर्न मदत गर्छ।
घ्यूकुमारीमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले खटिराको कारण सुजनलाई कम गर्छ। घ्यूकुमारीको जेल खटिरामा लगाउनुपर्छ।
तुलसीको पातलाई पिसेर पेस्ट बनाएर खटिरामा लगाउनुपर्छ। तुलसीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ, जसले सङ्क्रमणसँग लड्न मदत गर्छ।
दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले खटिरा पार्न मदत गर्छ। आराम पुग्छ।
सुन्तला, कागती, किवी जस्ता भिटामिन ‘सी’युक्त फलफूल खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र खटिरा निको हुन्छ।
यदि मुखको खटिरा धेरै पीडादायी छ, लामो समयसम्म रहन्छ वा रगत बगिरहेको छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ।