भिटामिन बी १२ हाम्रो शरीरको लागि आवश्यक पोषक तत्व हो। यसले रातो रक्त कोशिका निर्माण, स्नायु प्रणालीको सञ्चालन र डिएनए संश्लेषणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। तसर्थ शरीरमा भिटामिन बी १२ को सही मात्रा हुनु धेरै महत्वपूर्ण मानिन्छ।
तर के तपाईंलाई थाहा छ, यसको कमीलाई बेवास्ता गर्दा ज्यानसमेत जान सक्छ ? भिटामिन बी १२ शरीरको लागि यति आवश्यक छ कि यसको कमीले शरीरले राम्ररी काम गर्न सक्दैन। यस्तो अवस्थामा लामो समयसम्म उपचार नगरे मानिसको मृत्यु हुने सम्भावना रहन्छ।
तन्त्रिका तन्त्रको क्षति ः भिटामिन बी १२ को कमीले स्नायु प्रणालीमा क्षति पु–याउन सक्छ। यसबाट हात र खुट्टा झमझमाउने, सुन्न हुने र कमजोरी जस्ता समस्या निम्त्याउँछ। गम्भीर अवस्थामा यसले मेरुदण्डलाई पनि असर गर्न सक्छ, हिंड्नमा कठिनाइ हुन्छ।
रक्तअल्पता ः क्लिभल्यान्ड क्लिनिक अनुसार भिटामिन बी १२ को कमीको कारण रातो रक्त कोशिकाको उत्पादनमा कमी, स्थायी न्युरोलोजिकल क्षतिको कारण बन्न सक्छ जसको उपचार नगर्दा व्यक्तिको मृत्यु हुन सक्छ। रक्तअल्पताबाट थकान, कमजोरी र साँस फेर्न गा–हो हुन्छ।
मानसिक स्वास्थ्यमा प्रभाव ः भिटामिन बी १२ को कमीले डिप्रेशन र डिमेन्सियाजस्ता मानसिक स्वास्थ्य समस्या निम्त्याउँछ। साथै यसले स्मरणशक्ति कमजोर हुने र मस्तिष्कले राम्ररी काम नगर्ने खतरा पनि बढाउँछ।
हृदयसम्बन्धी समस्या ः मुटु रोग आज मृत्युको सबैभन्दा ठूलो कारण हो। भिटामिन बी १२ को कमीले हृदय रोगको जोखिम बढाउँछ।
लक्षणहरू ः लामो समयदेखि थकान, कमजोरी, हात खुट्टा झमझमाउने वा डिप्रेशन जस्ता लक्षणहरू अनुभव गर्दै हुनुहुन्छ भने भिटामिन बी १२ परीक्षण गराउनुपर्छ। समयमैं पहिचान गरी उपचार गरेमा यस्ता समस्याबाट बच्न सकिन्छ।
भिटामिन बी १२ प्राकृतिकरूपमा मासु, अन्डा र दुग्धजन्य पदार्थहरूमा पाइन्छ। शाकाहारीहरूका लागि भिटामिन बी १२ बाट युक्त फोर्टिफाइड फूड्स वा भिटामिन बी १२ सप्लिमेन्टको सेवन लाभदायक हुन सक्छ।