मानिस विधाताको सर्वोत्कृष्ट रचना हो, त्यसबाट श्रेष्ठतर जीवनयापनको अपेक्षा गर्न सकिन्छ, जसले मानव जीवनको उद्देश्य पूरा हुन सकोस्। मानिस यस धरतीमा किन आयो, उसको जन्मको उद्देश्य के हो, जीवनको लक्ष्य के हो र यसलाई प्राप्त गर्ने साधन केके हुन्–जीवनका यी यक्ष प्रश्नहरूको उत्तर ऋषिहरूले पुरुषार्थ चतुष्टयका रूपमा दिएका छन्, जसले जीवनको स्पष्ट दिशाबोध गर्दछन् र यसमा निहित प्रश्नहरूको समाधान पनि दिन्छन्।

यो भन्नु अतिशयोक्ति हुनेछैन कि पूर्वीय संस्कृतिको भव्य भवन पुरुषार्थ चतुष्टयको चार खामामा अडेको छ। पुरुषार्थ चतुष्टय एक किसिमले आचारशास्त्र हो, कर्तव्यशास्त्र हो, जीवन जिउने कलाको साधन हो। यिनले सत्कार्यका लागि अन्तर्दृष्टि दिन्छन्, जीवनलाई अनुशासित बनाउँछन्, माथि उठ्ने प्रेरणा दिन्छन् र आत्माको परिष्कारका साथ जीवनको परम लक्ष्य मोक्ष–प्राप्ति सम्भव बनाउँछन्।

पुरुषार्थ चतुष्टयमा धर्मलाई पहिलो स्थान दिइएको छ र अर्थ तथा कामलाई दोस्रो र तेस्रो स्थान प्राप्त छ। यसको आशय यही हो कि अर्थ र कामको प्रक्रिया धर्ममा आधारित होस्। हामी जुन अर्थ उपार्जन गर्छौं वा कामको उपभोग गर्छौं, ती सब धर्ममय होस्।

पूर्वीय संस्कृतिमा यो धारणा छ कि मानवीय जीवनको उद्देश्य अर्थाेपार्जन वा कामोपभोग हुन सक्दैन। धर्मको आधारमा एउटा उच्चतर जीवन यसको मौलिक प्रतिपादन हो, जसले व्यक्ति र समाज दुवैमा सुख–शान्ति व्याप्त हुन सकोस्।

धर्म सदाचरण, कर्तव्यपरायणता, मानव मूल्यको द्योतक हो। धर्म–स्वअनुशासित, नैतिकतापूर्ण लोकयात्रा पूरा गर्ने, राम्ररी जीवन व्यतीत गर्नेसम्बन्धी नियमहरूको सनातन स्रोत हो। धर्मको अभावमा अर्थ र काम अवनति, अशान्ति एवं पतनको कारण बन्न पुग्दछ। अतः धर्म ती नियमहरूको नाम हो, जसको पालन गर्दै हामीले काम र अर्थको उपभोग गर्नुछ एवं आत्मिक सुख र शान्तिको मार्ग प्रशस्त गर्नुछ।

वैशेषिक दर्शनका अनुसार धर्मले अभ्युदय र निःश्रेयस दिन्छ अर्थात् लौकिक र पारलौकिक, दुवै पक्षको संयोजन गर्छ। अभ्युदय जहाँ लौकिक सुख, समृद्धि र सम्पन्नता हो भने निःश्रेयस आत्मिक शान्ति र मोक्ष्F।

महाभारतको शान्तिपर्वमा ऋषि पराशर भन्दछन् कि धर्मको मात्र विधिपूर्वक अनुष्ठान, यस लोकमा मात्र होइन, परलोकमा पनि कल्याणकारी हुन्छ। योभन्दा ठूलो श्रेयको अर्को कुनै साधन छैन।

धर्मको अर्थ धारणासँग पनि छ, जसले सबैलाई धारण गर्दछ। धर्मले यस सृष्टिलाई, यस जीवनलाई धारण गरेको छ। यस अर्थमा धर्मको अभिप्राय श्रेष्ठ गुणसँग पनि हो, जसलाई धारण गरिन्छ। महर्षि मनुले धर्मका दश लक्षणहरूको रूपमा यिनै सद्गुणहरूको वर्णन गरेका छन्। यस रूपमा धर्मको आशय उपासनापद्धतिभन्दा बढी श्रेष्ठ आचरणसँग छ।

जब अर्थ र काम धर्ममूलक हुन्छन्, जब व्यक्तिको जीवन सुखी र समाज सुव्यवस्थित रहन्छ, अनि मात्र मोक्ष्F फलित हुन्छ अन्यथा व्यक्ति इहलोक र परलोकस दुवैमा दुःख भोग्छ तथा समाजमा अशान्ति र अव्यवस्था व्याप्त रहन्छ।

अर्थको अभिप्राय धन, सम्पत्ति र साधन–वैभवसँग जोडिएको छ, जसको आधारमा मानवीय जीवनको मूलभूत आवश्यकताहरूको पूर्ति हुन्छ, परिवारको पालन–पोषण हुन्छ, समाजको विकास कार्य अघि बढ्छ। यो आवश्यक छ कि धनार्जन न्याय, नैतिकता तथा सत्यमा आधारित होस्, जसमा साधनको शुचिताको विशेष ख्याल गरियोस्।

अथर्ववेदमा ऋषि भन्दछन् कि म अरूको कमाइ नखाउँ, अर्थात् त्यो अनुचित ढङ्गले अर्जित नहोस्। हे इन्द्र १ हामीलाई श्रेष्ठ अन्न देऊ। अथर्व वेदका अनुसार पुण्यबाट अर्जित धनले नै मेरो घरको शोभा बढाओस्।

महाभारत शान्तिपर्वमा सच्चा धनको चर्चा गर्दै भनिएको छ कि धर्मको पालन गर्दै जुन धन अर्जित हुन्छ, त्यही सच्चा धन हो। जुन अधर्मबाट प्राप्त हुन्छ, त्यो धन त धिक्कारयोग्य नै हुन्छ। संसारमा धनको इच्छाले शाश्वत धर्मको त्याग गर्नुहुँदैन।

महान् नीतिज्ञ चाणक्य वर्जित धनको सम्बन्धमा प्रकाश पार्दै भन्दछन्–जुन धन अरूलाई पीडा वा हानि पु–याएर, धर्मको उल्लङ्घन गरेर तथा शत्रुका सामु निहुरेर प्राप्त हुन्छ, त्यो धन मलाई चाहिंदैन। अन्यायपूर्वक यदि कसैसँग सिन्को पनि लिइएको छ भने त्यो दुःखदायी हुन्छ। त्यसैले चाणक्यले भनेका छन्–

 मातृवत् परदारेषु परद्रव्येषु लोष्ठवत्।

आत्मवत् सर्वभूतेषु यः पश्यति पश्यति।।

अर्थात् जसले पराई महिलालाई आमा समान, पराई धनलाई काठ समान र समस्त प्राणीलाई आपूmसमान देख्दछ, उही देख्दछ। उपनिषद्हरूमा–तेन त्यक्तेन भुंजीथाः अर्थात् त्यागपूर्ण भोगलाई जीवनको आदर्श भनिएको छ।

काम मुक्तिको मूल कारण हो, मानिसको स्वाभाविक एवं जन्मजात प्रवृत्ति हो। सन्तानोत्पत्ति, मानव जातिको परम्परालाई अक्षुण्ण बनाइराख्नका लागि काम आवश्यक छ। यस रूपमा यो एउटा प्राकृतिक र नैसर्गिक कामना हो।

शास्त्रहरूमा एउटा सीमा–मर्यादामा रहेर कामसेवन गर्नुपर्ने बताइएको छ र यसको अति वर्जित गरिएको छ। अनियन्त्रित वा अति विषयासक्तिले बल एवं बुद्धिको नाश हुन्छ। विषय–वासनामा फसेका व्यक्तिको अनिवर्चनीय हानि हुन्छ, अनि भोग कहिले तृप्त हुँदैन।

भर्तृहरिले भनेका छन्–भोगा न भुक्ता वयमेव भुक्ताः अर्थात् भोगहरूलाई भोग्नाले मानिस कहिले तृप्त हुँदैन, अपितु स्वयं जर्जर हुन्छ। मनु महाराजको शब्दमा भोग्नाले इच्छा कहिले पनि तृप्त हुँदैन वरन् घीउबाट अग्नि तीव्र भएजस्तै इच्छा पनि बढ्दै जान्छ। भगवान् श्रीकृष्णले कामलाई धेरै खाने महापापीसम्म भनेका छन्। यसको वशीभूत जीवनको दुःखद परिणति चारित्रिक पतन एवं कलङ्कित जीवनको रूपमा हुन्छ।

महाभारतमा स्पष्ट निर्देश छ कि आफ्नो इन्द्रियहरूलाई वशमा नराख्नु विपत्तिको मार्ग हो र यिनलाई अधीनमा राख्नु सम्पत्तिको मार्ग हो। धर्मयुक्त काम संयमको मार्ग हो, जसले स्वास्थ्यलाई लाभ पु–याउँछ, मनलाई निर्मल तथा चित्तलाई शान्त पार्छ। संयमित, मर्यादित, सदाचारी जीवन नै मानिसको आदर्श हो। धर्मयुक्त काम नै मानव मोक्षको द्वार हो।

मोक्ष्F, पुरुषार्थ चतुष्टयको चौथो स्थानमा आउँछ। यो जीवनको उच्चतम उद्देश्य, परम साध्य हो। मोक्ष जन्म–मरणको बन्धन, संसार चक्र–मृत्युको अन्तहीन गतिशील चक्रबाट, मुक्त वा पार हुनु हो। न्यायदर्शनमा दुःखबाट छुटकारा गर्नुलाई नै मोक्ष भनिएको छ। यो मानव जीवनको परम उपलब्धि हो। पूर्वी परम्पराका सबै दर्शनले यसको प्रतिपादन गर्दछन्। गृहस्थ जीवनमा रहेर पनि सात्विक, संयमित एवं सदाचारी जीवन बाँच्दै मोक्षको मार्ग प्राप्त गर्न सकिन्छ। यसका लागि अर्थ एवं कामको धर्मयुक्त आचरण मोक्षसम्म पुग्ने राजमार्ग हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here