सप्तरीको रूपनी गाउँपालिका–१ रायपुरका ६२ वर्षीया चुनरदेवी सदा हालसम्म नागरिकताबाट वञ्चित छिन्। उनले नागरिकताका लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै आएकी छन्। सदाका पति रामप्रसादको १० वर्ष अघि नै मृत्यु भइसकेको छ। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित छिन्।
“सरकारले एकल महिलालाई मासिक सामाजिक सुरक्षा भत्ता दिने गरेको छ,” चुनरदेवी भन्छिन्, “मसँग नागरिकता नहँुदा त्यो सुविधाबाट वञ्चित छु।” नागरिकता बनाउन वडा कार्यालयबाट सिफारिश बनाए पनि जिल्ला प्रशासन कार्यालयले पति र बुबाआमाको नागरिकता मागेको उनी बताउँछिन्।
चुनरदेवी भन्छिन्, “पतिको नागरिकता त छ, तर मसँग बुबाआमाको नागरिकता छैन।” बुबाआमा बितेको करीब २० वर्ष भइसकेकोले नागरिकता आफूसँग उपलब्ध नभएको उनी बताउँछिन्। नागरिकता नपाउँदा चुनरदेवीका २५ वर्षीय छोरा सञ्जीवलाई समस्या भएको छ।“नेपालमैं जन्मिएँ, यहीं हुर्किएँ। तर हालसम्म नागरिकता पाउन सकेको छैन,” सञ्जीव भन्छन्, “घरको मूल व्यक्ति आमासँग नै नागरिकता नहुँदा समस्या भएको हो।” नागरिकता नबन्दा सञ्जीवले सात वर्षीय छोराको जन्मदर्ता प्रमाणपत्र बनाउन सकेका छैनन्।
रूपनी–२ लौवापारका बिलट सदा पनि नागरिकताबाट वञ्चित हुन्। सानै उमेरमा बुबाआमा गुमाएकाले आफू नागरिकताबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। नागरिकताका लागि सबै निकायलाई गुहारे पनि अझै पाउन नसकेको बिलट गुनासो गर्छन्।“आर्थिक अवस्था असाध्यै कमजोर छ, परिवार पाल्न धौधौ छ,” बिलट भन्छन्, “तर ऋण माग्न साहुमहाजनदेखि बैंकसम्म पुग्दा सबैले पहिला नागरिकता माग्छन्, नागरिकता नहुँदा ऋणसम्म पाउन सकिरहेको छैन।” उनको पनि नागरिकताका लागि वडाबाट सिफारिश भइसकेको छ। तर जिल्ला प्रशासन कार्यालयले बुबाआमाको नागरिकता माग्दा बिलटले दिन सकेका छैनन्। “दाजुको मृत्यु भइसकेकोले सनाखत गर्न भाउजू फूलवती देवी र भतिजा रामलगन तयार हुनुहुन्छ, तर यसले पनि समस्या समाधान हुन सकेको छैन,” बिलटले भने। उनको नागरिकताको पहल गरिदिन वडाध्यक्षसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगे पनि नागरिकता बन्न सकेन।“नागरिकता नबन्दा १२ वर्षीय छोरा दिले र १० वर्षीय पवनको जन्मदर्ता बनाउन सकेको छैन,” बिलटले भने।
स्थानीय २८ वर्षीया सङ्गीतादेवी सदाले पनि अझै नागरिकता पाउन सकेकी छैनन्। सिराहा माइत भएकी उनको स्थानीय उमेश सदासँग विवाह भएको हो। “पतिको नागरिकता बनेको छ,” उनी भन्छिन्, “तर जिल्ला प्रशासन कार्यालयले पतिको नागरिकतासँगै बुबाको पनि माग्छ, बुबा गणेश सदाको नागरिकता आगलागीमा परेर जलेर नष्ट भयो, बुबाको मृत्यु भइसकेकोले झन् समस्या भएको छ, बुबाको मृत्युदर्ता बनाउन तस्वीर चाहिने भयो, तर उहाँको तस्वीर छैन, कहाँबाट ल्याएर दिनु ?” बुबाको नागरिकता वा मृत्युदर्ता नहुँदा नागरिकता बनाउन नसकेको उनको भनाइ छ।
नागरिकता नभएपछि गाउँमा गठन हुने महिला समूहमा आबद्ध हुन नपाएको सङ्गीता देवी बताउँछिन्। “अन्य सेवा सुविधाबाट पनि वञ्चित छु,” उनले भनिन्। जन्मेपछि कानूनीरूपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबाआमाको नागरिकता नहँुदा सन्तानको पहिचान सङ्कटमा छ।
नागरिकताको सिफारिशका लागि जन्मदर्ता खोजें तर आफ्नो जन्मदर्ता नभएको रूपनी–६ का दीपेन्द्र सदा बताउँछन्। नागरिकता नहुँदा समाज र समुदायबाट अलग हुनुपरेको उनको भनाइ छ। “नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेको छैन। राज्यले उपलब्ध गराउने हरेक सेवासुविधाबाट वञ्चित हुनुपरेको छ।”
रूपनी गाउँपालिकाका चुनरदेवी, बिलट, सङ्गीता र दीपेन्द्र मात्र होइनन्, सो गाउँपालिकाका विभिन्न वडाका दलित बस्तीमा नागरिकताको समस्या यथावत् छ।
वडामा जन्मदर्ता, विवाहदर्ता र नागरिकताको समस्या पाइएपछि ‘द फ्रिडम फन्ड’को सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र, सप्तरीले व्यक्तिगत घटना दर्तासँगै नागरिकता र जन्मदर्ता बनाउने अभियान थाल्ने तयारी गरेको छ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रकी सहजकर्ता पूनम चौधरीका अनुसार अधिकांश दलित बालबालिका जन्मदर्ताकै अभावले पढाइबाट वञ्चित छन्। प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिश गर्न कठिनाइ भइरहेको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताए।