भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्ड र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतवार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकामा समकक्षी मोदीलाई बधाई दिंदै उनको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
भेटमा उनीहरूबीच नेपाल–भारतबीच विद्यमान सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनबारे छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्ड आइतवार साँझ प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए। उनी आइतवार नै भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए। प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा प्रचण्ड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरी, परराष्ट्र
सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन्। प्रधानमन्त्री प्रचण्ड सोमवार साँझ स्वदेश फर्किएका छन्।
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मूसँग आज भेट गरेका हुन्।
सो अवसरमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड भारतका राष्ट्रपति मुर्मूले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भएका थिए।
प्रधानमन्त्री प्रचण्डसँग भारतीय सङ्घीयमन्त्री जयशङ्करको भेटवार्ता
प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकामा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना दिए। उनले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।
त्यसैगरी, मन्त्री जयशङ्करले दुई देशबीच भएका सम्झौता एवं समझदारी कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएका थिए।
प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यवसायीको भेट
प्रधानमन्त्री प्रचण्डसँग त्यहाँको ‘फेडेरेशन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की)को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।
प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा आज भएको उक्त भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीले छलफल गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल भारतीय लगानीकर्ताका लागि उपयुक्त देश भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानूनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए।
“लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानून अध्यादेशबाट संशोधन गरेका छौं, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ, ढुक्क भएर लगानी गर्न आग्रह गर्छु।” उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको उनले बताए।
भारत सरकारसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिंदै प्रधानमन्त्री प्रचण्डले ठूला जलविद्युत् आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिए।
सो अवसरमा फिक्कीका अध्यक्ष डा अनिश शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जाका क्षेत्रमा आफू र आफ्ना सदस्यहरू लगानी गर्न इच्छुक रहेको बताए। प्रधानमन्त्री प्रचण्डले लगानीका लागि लिएको तदारूकतालाई आफूहरूले नजीकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै अध्यक्ष शाहले नेपालमा लगानीका लागि उत्साहित रहेको बताए।