आधुनिक शहरका रूपमा परिचित धरान शहर कुनै समय घना जङ्गलले ढाकिएको थियो। जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गरेको धरान (धराप)बाट यसको नाम रहन गयो। आरावालाहरूको मेहनतले खारिएको यो ठाउँ कालान्तरमा ‘लाहुरेको शहर’का रूपमा उभियो, र उनीहरूकै नाम र कर्मले चिनियो पनि। समयक्रममा धरान कहिले ‘फेशनेबल शहर’ले त अहिले बुढासुब्बा मन्दिरले पनि परिचित भयो। त्यतिमात्रै होइन, तराई र पहाड जोड्ने सङ्गम भएकाले मानिसहरू चहलपहल अधिक हुन थाल्यो।
जेजस्तो भएपनि आधुनिक शहरको जग भने लाहुरेहरूको मेहनतले बसेको हो। लाहुरेहरूको पूँजी, सीप र पौरख पोखिएर उभिएको धरानले लाहुरेको शहरका रूपमा नयाँ पहिचान पायो। विसं २०१० मा ब्रिटिश गोर्खामा भर्ती भई ३७ वर्ष सेवा गरेका झप्तमान लिम्बू सामान्य गाउँ धरान शहरका रूपमा विकास हुँदै गरेको देख्ने थोरैमध्येका एक हुन्। उनी भर्ती हुने समयमा धरानमा ब्रिटिश घोपा क्याम्प स्थापना भइसकेको थिएन। धनकुटामा जन्मिएका उनी लाहुरे बन्न कैयौं दिन हिंडेर दार्जिलिङ पुगेका थिए। “हामी लाहुरे बन्ने समयमा धरान सुनसान जङ्गल जस्तै थियो, लाहुरबाट बिदामा फर्कंदा धरानमा खान र बस्ने ठाउँ पनि भेटिन्नथ्यो,” उनले विगत सम्झे।
त्यो बेलासम्म ब्रिटिशले भारतको दार्जिलिङबाट गोर्खा भर्ती गराउँदै आएको थियो। “उच्च पदमा पुगेका केही लाहुरेहरूले धरानमा पक्की घर बनाएर बस्न थालेपछि लाहुरेको सङ्ख्या बढ्दै जाँदा यसले शहरको रूप लिएको हो,” उनले भने, “ती लाहुरेहरूको भीडमा म पनि एक थिएँ, तर अहिले धरानबाट लाहुरेहरू पातलिंदै गएका छन्।”
उनका अनुसार धरानमा कुनै समय छ हजार पाँच सय लाहुरे अर्थात् भूतपूर्व सैनिक थिए, तर अहिले त्यो सङ्ख्या तीन हजारको हाराहारीमा सीमित भएको छ। पछिल्लो समय भर्ती भएर लाहुरे हुनेहरूका लागि ब्रिटिश सरकारले उतै बस्ने वातावरण बनाइदिएपछि नेपाल फर्कनेहरू घट्दै गएको उनको बुझाइ छ।
लिम्बूले शुरूमा मलेशियाबाट सेवा शुरू गरेर सिङ्गापुर, बु्रनाई, हड्ढङ, बेलायत, जर्मनी, इटाली, बेल्जियमलगायत देशसम्म पुगी ३६ वर्ष बिताए। नेपाल फर्केपछि धरान क्याम्पमा गोरखा मेजर भएर काम गरेको उनले बताए। उनले भने, “मलाई बेलायतभन्दा नेपाल नै राम्रो लाग्यो, नेपालमा जति साथीभाइ पाएको छु, त्यहाँ कसरी पाउनु, त्यसैले बेलायत गएर बस्न कहिल्यै मन लागेन।”
धरानलाई लाहुरेको शहर बनाउन भर्ती केन्द्रको स्थापना हुनु प्रमुख कारक रहेको धरानका बूढापाका बताउँछन्। भर्ती केन्द्र स्थापना भएपछि धरानका आर्थिक र सामाजिक गतिविधिहरू बढ्दै गए। लाहुरेहरूले विदेशमा सिकेको रहनसहनलाई अपनाए र यहाँको सामाजिक संस्कार पनि बिस्तारै शहरमय हुन पुग्यो। धरान–१३ फुस्रेमा भारतीय पेन्सन क्याम्प स्थापना भएपछि त भारतीय लाहुरेका लागि पनि यो आकर्षक केन्द्रका रूपमा स्थापित भयो।
पूर्वी पहाडी भेगका युवाहरू भर्ती हुनका लागि ब्रिटिश गोर्खा सैनिक कार्यालय (भर्ती केन्द्र)मा सयौंको सङ्ख्यामा आउने गरेको भूतपूर्व लाहुरेहरू बताउँछन्। विसं २०१६ मा धरानमा गोरखा भर्ती केन्द्र मलाय क्याम्प स्थापना भएपछि धरानमा लाहुरेको सङ्ख्या ह्वात्तै बढेको समाजसेवी राजेन्द्र शर्माको भनाइ छ। उनले भने, “तत्कालीन समयमा १६ वटा जिल्लाबाट भर्ती हुनका लागि युवाहरू आउँथे, त्यो बेला धरान धेरैका लागि सपनाको शहर जस्तै बनेको थियो।”
सन् २००४ देखि पूर्व गोेर्खाली र उनीहरूका परिवारलाई बेलायत, सिङ्गापुर, बु्रनाईलगायत देशमा बस्न पाउने अनुमति पाएपछि धरानमा लाहुरेको सङ्ख्या घट्दै गएको शर्माको बुझाइ छ। अहिले धरानमा १० देखि १२ प्रतिशत जति मात्र लाहुरे रहेको उनको भनाइ छ। “बेलायत र सिङ्गापुर बस्ने नेपालीले पठाउने विप्रेषण घट्न थालेपछि धरानको रौनकता पनि हराउँदै गएको छ,” उनले भने।
लाहुरे घट्दै गएपछि एकातिर धरानमा पछिल्लो समय व्यापार पनि घट्दै गएको छ भने अर्काेतिर लाहुरेहरूले नेपालमा रहेको सम्पत्ति बेचेर बेलायत लैजाने क्रम पनि बढेको छ। “धरानबाट लाहुरेहरू पलायन भएपनि उहाँहरूले छाडेका निसानीले बेलाबेलामा उहाँहरूलाई नै सम्झाउने गर्छ,” उनले भने, “भूपू सैनिकहरूले धरान उपमहानगरपालिका–२० विष्णुपादुकमा निर्माण गरेको ब्रिटिश गोर्खा स्मृति पार्क धेरै पर्यटकका लागि गन्तव्यसमेत बनेको छ।”
धरान–१० स्थित सैनिक भवन, धरान–१९ स्थित ब्रिटिश सामुदायिक हल, धरान–१३ स्थित वेलफेयर अफिस, धरान–१८ स्थित डिपोट हाईस्कूल, भानुचोकस्थित गोर्खा कम्प्लेक्सलगायत संरचना लाहुरेहरूकै देन हुन्। लाहुरेहरूले धरानलाई नयाँ पहिचान मात्रै दिएनन्, उनीहरूले पुस्तौंसम्म स्मरण गर्ने संरचना पनि बनाएर धरानको पहिचान बलियो बनाए। आधुनिक धरान बनाउन महत्वपूर्ण योगदान दिएका लाहुरेहरू अहिले कमै भेटिन्छन्। यद्यपि उनीहरूका योगदान भने पुस्तौंसम्मका धरानवासीले स्मरण गरिरहनेमा शर्माको विश्वास छ।
आजभन्दा झन्डै ४०–४५ वर्षअगाडि पहाडी जिल्लामा यातायातको सुविधा नहुँदा हिंडेर ढाकर बोकेर नून, चामल लिनेहरू धरान झर्थे, तर त्यो क्रम बिस्तारै कम हुँदै गयो, यातायातको सुविधा पुग्दै गयो। पहाडी भेगका जिल्लाबाट मानिसहरू धरान झर्दा धरानको सान बेग्लै हुन्थ्यो, तर अहिले धरान झर्नेहरू पनि घटे भने धरानको जग बसाल्ने पनि पातलिंदै गए। सङ्खुवासभामा जन्मिएका क्याप्टेन पूर्ण लिम्बू सन् १९८० सालमा ब्रिटिश लाहुरे भई २८ वर्ष बिताएपछि सन् २००८ सालमा सेवानिवृत्त भई नेपाल फर्किएको बताए। उनले नेपाल फर्केपछि धरान उपमहानगरपालिका–१३ मा रहेको ब्रिटिश वेलफेयर कार्यालयमा वरिष्ठ एरिया वेलफेयर अफिसरका रूपमा १६ वर्ष सेवा गरेपछि करीब एक वर्षअघि मात्रै सेवानिवृत्त भएका हुन्।
लिम्बूले भने, “पहिलेको तुलनामा अहिले ब्रिटिश, सिङ्गापुरेलगायत लाहुरेको सुविधा राम्रो छ। म पनि परिवार लगेर उतै बस्न सक्थें, तर आफू जन्मेको देश यो उमेरमा किन छाड्ने भन्ने लाग्यो र यतै बस्ने निधो गरें।” उनी अहिले सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्।
पछिल्लो समय युवाहरू भर्ती भएपछि नेपाल फर्कनेहरू निकै कम छन्। अहिले लाहुर लागेर गएको केही वर्षमैं उतै बस्ने सुविधाले पनि होला धरानका युवाहरू उता गएपछि फर्कन मान्दैनन्। लिम्बूले भने, “हाम्रो पालामा लाहुर लागेकाले नेपाल फर्केर चिटिक्क परेका घर बनाए, विदेशमा सिकेका संस्कारलाई पछ्याउन थालेका थिए। धरान लाहुरेको शहरका रूपमा अघि बढ्दै थियो, चिटिक्क परेको सफासुग्घर घरहरू भएको शहर बन्न थाल्यो, त्यो समय धरानमा लाहुरेको उपस्थिति शहरको व्यापार वृद्धि र चमकधमकको मुख्य आधार नै बनेको थियो, तर अहिले त्यस्तो छैन।”
हाल चुम्लुड्ढा जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ सन् १९७३ सालमा ब्रिटिश लाहुरे भएर बेलायत र बु्रनाई गरी करीब २७ वर्ष जागीर गरेर नेपाल फर्किएको बताए। उनका शब्दमा लाहुरेहरू नभएको भए धरानको विकास यो स्तरमा शायदै हुने थिएन होला,
तर पछिल्लो समय नेपालको सम्पत्ति बिक्री गरेर लाहुरेहरू बाहिरिने क्रमले धरानको साख खस्कँदो रहेको उनको बुझाइ छ। “हामीले त लाहुरेकै कारण बनेको धरान र लाहुर कम हुँदै गएपछि हराउँदै गएको यहाँको रौनकता दुवै भोग्नेमा प–यौं, अहिले पहिले जस्तो लाहुरेको शहर छैन।”
बेलायत सरकारले राम्रो सुविधा दिएकै कारण पछिल्लो समय लाहुरेहरू नेपाल छोडेर विदेशमैं बस्न थालेको धरानका पत्रकार हर्ष सुब्बाको भनाइ छ। उनले भने, “पेन्सनबाहेक पनि अतिरिक्त थप राम्रो भत्ता पाउन थालेसँगै पनि धेरै लाहुरे विदेश पलायन हुन थाले, पछिल्लो आन्दोलनपछि बेलायती सरकारले घर बनाउने र परिवार लैजान पाउने सुविधा पनि दिएपछि यहाँका लाहुरेहरू सम्पत्ति बेचेर जान थालेका हुन्।”
पछिल्लो समय धरान मात्र नभएर नेपालका अधिकांश ठाउँका लाहुरेहरूले नेपालमा भएको आफ्नो जग्गा जमीनहरू बेचेर विदेश जानेको सङ्ख्या बढ्दै गएकाले बर्सेनि २५ देखि ३० करोडभन्दा बढी रकम बेलायत जाने गरेकाले देशलाई पनि घाटा हुने गरेको पूर्वसांसद जयकुमार राई बताउँछन्। ब्रिटिश सेनामा कार्यरत रहँदा सिकेको सीपलाई नेपालमैं आएर उपयोग गर्नुपर्छ भन्ने उनको भनाइ छ।