यहाँका धेरैजसो किसानले परम्परागतरूपमा कुखुरापालन गर्दै आएका छन्। केही ठूला व्यवसायी आधुनिक प्रविधितर्फ गए पनि पछिल्लो अत्याधुनिक प्रविधि नेपालमा अझै भित्रिएको छैन।
तर यहाँ भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा राखिएका अत्याधुनिक प्रविधि देखेर यहाँ आएका कुखुरापालक किसान दङ्ग परेका छन्।
कम लागतमा धेरै अन्डा र मासु उत्पादनका लागि उपयोगी यस्ता प्रविधि देखेपछि किसान र व्यवसायी उत्साहित भएका हुन्। कतिपय विद्यार्थी र यस क्षेत्रमा रुचि राख्नेहरू पनि आकर्षित भएका छन्। विश्वका विभिन्न देशका विज्ञ र प्रविधि झिकाएर प्रत्यक्षरूपमा किसानलाई बुझाउने काम प्रदर्शनीमा गरिएको थियो। झापाबाट प्रदर्शनी हेर्न आएका सुवास खतिवडा प्रदर्शनीमा राखिएका प्रविधिहरूको अध्ययन गर्दै थिए। उनले भने, “विदेशमा गएर हेर्नुपर्ने उपकरणहरू यही हेर्न पाउँदा खुशी लागेको छ।”
भरतपुर महानगरपालिका वडा नं १२ का दिनेश कट्टेलले कुखुरापालन गर्नेलाई प्रदर्शनी निकै फलदायी भएको बताए। पोल्ट्रीसँग सम्बन्धित उपकरण र औषधिका बारेमा हेर्ने र बुझ्ने अवसर पाइएको उनको भनाइ छ। उनले भने, “उपलब्धिमूलक प्रदर्शनी भएकाले यस्ता कार्यक्रम हरेक दुई/तीन वर्षमा हुनुपर्छ।”
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा भेटेरिनरी सङ्काय अध्ययनरत सविना पाण्डे प्रदर्शनीले विद्यार्थीदेखि किसानसम्मलाई अध्ययनका लागि सहज बनाएको बताइन्। उनले भनिन्, “हामीले यस्ता सामग्रीको विषयमा अध्ययन गरेका थियौं। तर अहिले यहीं प्रत्यक्ष हेर्न पाइयो।”
कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा सुवीर सिंहले प्रदर्शनीमा किसान पाठशालाको संयोजन गरेका थिए। उनका अनुसार तीन दिनसम्म नेपाल, भारत, क्यानडा, ताइवान र मलेशियाका विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए। तीन दिनमा १९ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए। जसमा कुखुरापालनसम्बन्धी अत्याधुनिक प्रविधिका बारेमा किसान, व्यवसायी र विद्यार्थीलाई बुझाउने प्रयास गरिएको थियो।
विदेशमा जाँदा भाषाको समस्या हुने भएपनि यहाँ सहजरूपमा कतिपय विषय नेपालीमा बुझाइएको थियो। तीन दिनमा २५५ जनाभन्दा बढीले प्रविधिको बारेमा ज्ञान हासिल गरेको उनले जानकारी दिए।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेल नेपालमा यस अघि सन् २०१७ र २०१९ मा प्रदर्शनी गरिए पनि त्योभन्दा अझै राम्रो यसपटक गर्न सकिएको बताउँछन्। यही जेठ १८, १९ र २० गते गरिएको प्रदर्शनीमा विश्वका विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धित फार्म, औषधि, दानालगायतका अत्याधुनिक उपकरण प्रविधिका बारेमा प्रदर्शन र पाठशाला सञ्चालन गरिएको उनले जानकारी दिए।
नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इक्युपमेन्ट एशोसिएशनको आयोजनामा प्रदर्शनी भएको हो। प्रदर्शनीमा १५० वटा स्टल रहेका थिए। नेपालमा पहिलोपटक विसं २०४८ मा प्रविधि भिœयाएर व्यावसायिक कुखुरापालन गरेका नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट प्रदर्शनीबाट नेपाल र भारतीय किसान एवं व्यवसायी लाभान्वित भएको बताउँछन्।
अत्याधुनिक प्रविधि प्रयोग गर्न सक्दा थोरै लागतमा धेरै उत्पादन गर्न सकिने उनले बताए। यसले किसान र कुखुरा पाल्नका लागि आवश्यक उपकरण उत्पादन गर्ने कम्पनीका बीचमा सम्बन्ध स्थापित गर्न सहयोग पुगेको उनको भनाइ छ।
प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियम, नेदरल्यान्ड, अमेरिका, टर्किए, मलेशिया, सिङ्गापुर, ताइवान, इटाली, इजरायल, बङ्गलादेशलगायतका देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरूको सहभागिता थियो।