बागलुड्ढो निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन्। उमेरले १९ वर्ष भएकी विश्वकर्माले कक्षा छ मैं पढाइलाई विश्राम दिइन्। उनको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गरिन्।
निसीखोला गाउँपालिका–५ निसेलढोरमा अशिक्षा, गरीबी र बालविवाह व्याप्त छ। त्यसैको चेपुवामा सम्झनाजस्ता धेरै किशोरी परेका छन्। निसेलढोरमा पाँच कक्षासम्म अध्ययन हुने गरेको र माध्यमिक शिक्षा अध्ययनका लागि घरबाट टाढा जान सम्भव नभएपछि पढाइ छोडेको विश्वकर्माले दुःखेसो पोखिन्। “१९ वर्षकी भएँ, पढाइको महत्व अहिले बुझ्दै छु। घरबाट पाँच घण्टाको पैदल दूरीमा माध्यमिक विद्यालय छ, त्यस कारण पढ्न सम्भव भएन। सानै उमेर भएकाले कोठा खोजेर पनि बस्न सकिएन, यहाँ म मात्रै होइन विद्यालय नहुँदा धेरैले पाँच कक्षापछि पढाइ छोड्नुपर्ने बाध्यता छ,” उनले भनिन्।
शिक्षा मात्र होइन यहाँ विद्युत्को पनि त्यस्तै समस्या छ। एक वर्षअघि नेपाल टेलिकमले मोबाइल टावर राखे पनि मोबाइल चार्ज गर्न नसकिएको स्थानीयको गुनासो छ। निसेलढोरमा ५५ स्थायी र १५० घरमा घुम्ती बसाइ हुन्छ। घुम्ती बसाइ गर्ने परिवारका बालबालिकाले निसीखोलाको बेंसीमा विद्यालयमा अध्ययन गर्ने भएपनि निसेलढोरमैं रहेका बालबालिका कक्षा पाँचपछि अध्ययन छोड्ने गरेका स्थानीय खिमा विकको भनाइ छ। “यहाँ त बालविवाह सामान्यजस्तै छ, केही बालबालिका विद्यालय नै जाँदैनन्, कक्षा पाँचसम्म त गाउँमैं पढाइ हुन्छ, त्यसमाथि अध्ययन गर्न समस्या छ,” विकले भनिन्। पाँच कक्षासम्म अध्ययन गर्न मिल्ने कुँडेढोर प्राथमिक विद्यालयमा अहिले ५२ जना विद्यार्थी छन्। विद्यालयका शिक्षक रुद्र विकले पनि धेरैले पाँच कक्षापछि पढाइ छोड्ने गरेको बताए। विसं २०६४ मा स्थापना गरिएको कुँडेढोर प्राथमिक विद्यालयसमेत जीर्ण अवस्थामा छ।