चितवन, १४ जेठ/रासस

नारायणगढ–मुग्लिन सडकखण्डमा आइतवार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। मृत्यु हुनेमा प्युठान नौबैइनी गाउँपालिका–३ बस्ने १३ वर्षीय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बा–हबीसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन्। पुनको राति नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमवार बिहान ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार ना.३ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारको क्रममा मृत्यु भएको हो।

नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका वडा नं २९ सत्र किलोमा मध्यराति चारवटा सवारीसाधन एकापसमा ठक्कर खाएका थिए। दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ जान आउँदै गरेको बा.४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना.३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबासतर्फ जान आउँदै गरेको ना.७ख ३२४८ नंको बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here