शैक्षिक सत्र २०८० मा विद्यालय तहका विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाको बैठकमा आइतवार प्रस्तुत आर्थिक सर्वेक्षण, २०८०/८१ मा शैक्षिक सत्र २०८० मा कक्षा आठसम्मको टिकाउ दर ८६ दशमलव दुई प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६९ दमशलव नौ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३७ दशमलव दुई प्रतिशत पुगेको उल्लेख गरिएको छ।
शैक्षिक सत्र २०७९ मा विद्यार्थीको टिकाउ दर कक्षा आठ, १० र १२ सम्म क्रमशः ८५ दशमलव सात, ३७ दशमलव तीन र ३५ दशमलव छ प्रतिशत रहेका थिए। प्रारम्भिक बाल विकास केन्द्र र पूर्व प्राथमिक कक्षा सञ्चालन बढेपछि औपचारिक शिक्षाको गुणस्तर वृद्धिमा योगदान पुगेको हो।
सर्वेक्षणमा शैक्षिक सत्र २०८० मा माध्यमिक तह (९–१२) को खुद भर्नादर गत वर्षभन्दा शून्य दशमलव पाँच प्रतिशतले बढेर ५७ दशमलव नौ पुगेको उल्लेख गरिएको छ । यसैगरी कक्षा १ मा खुद भर्नादर ९५ दशमलव सात तथा आधारभूत तह (१–५)मा ९५ दशमलव ५ र कक्षा १–८ मा ९५ दशमलव एक प्रतिशत रहेको छ । गत फागुनसम्ममा पूर्ण साक्षर घोषणा भएका जिल्लाको प्रतिशत ६४ पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान आठ दशमलव पाँच प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा आठ दशमलव तीन प्रतिशत रहेको
थियो । यस अवधिमा शिक्षा क्षेत्रको कुल मूल्यवृद्धि दुई दशमलव सात प्रतिशतले विस्तार हुने अनुमान छ । गत आर्थिक वर्षमा तीन दशमलव नौ प्रतिशत रहेको थियो ।