सिबी अधिकारी

काठमाडौं, ८ जेठ/रासस

सर्वोच्च शिखर सगरमाथाको २९औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा ३०औं पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लेका छन्। वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औं पटक आरोहण गरेर यसअघि २८औं पटक सगरमाथा आरोहणको आफ्नै कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका थिए।

उक्त कीर्तिमान भङ्ग गर्दै यही सिजनमा सगरमाथाको दोस्रोपटक आरोहणका लागि कामीरिता सोमवार चुचुरोतर्फ लागेका हुन्। सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार कामीरिताले भोलि बुधवार बिहान सगरमाथाको चुचुरोमा पुग्ने योजनाअनुरूप अहिले सगरमाथाको चौथो शिविरनजीक छन्।

“कामीरिता शेर्पा ३०औं पटक सगरमाथा आरोहणका लागि अहिले साउथकोलनजीक पुगेका छन्। भोलि बिहान चुचुरोमा पुग्ने योजना छ,” फिल्ड कार्यालय प्रमुख गौतमले भने।

सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिता सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एकमात्र पर्वतारोही हुन्। सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एकमात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।  सगरमाथामा विभिन्न कीर्तिमान कायम गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ। यही याममा पत्रकार पूर्णिमा श्रेष्ठले एक सातामा तीनपटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने योजनाअनुरूप सगरमाथाको चुचुरोतर्फ लागेकी छन्। पत्रकार श्रेष्ठले यो याममा दुईपटक सगरमाथा आरोहण गरिसकेकी छन्।

तेस्रो आरोहणका लागि उनी चुचुरोतर्फ लागेकी जनाइएको छ। यस्तै, होचा पुड्का सागर सुनुवारले पनि यही याममा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने उद्देश्यसहित सगरमाथा आरोहणमा गएका छन्। कास्कीका सागर तीन फिट सात इन्च अग्ला छन्। यही याममा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये ७० प्रतिशत आरोहीले आरोहण गरिसकेको प्रमुख गौतमले जानकारी दिए।

उनले यस याममा आरोही र शेर्पा सहयोगीसहित ४६० जनाले सगरमाथा आरोहण गरेको बताए। “हालसम्म करीब ७० प्रतिशत आरोहीले सगरमाथा आरोहण गरिसक्नुभएको छ,” उनले भने, “अबको चार दिनमा आरोहणका लागि मौसम उपयुक्त भएकाले बाँकी आरोहीले आरोहण सक्ने अनुमान गरिएको

छ।”खाली हुँदै सगरमाथा आधार शिविर सगरमाथाको आधार शिविरस्थित चाँदीझैं टल्कने हिउँमा रङ्गीबिरङ्गी त्रिपालले सजिएको सगरमाथाको आधारशिविर बिस्तारै सुनसान बन्दै गएको छ। सगरमाथा आरोहण सकेर आरोही गन्तव्यतर्फ लागेका तथा बाँकी आरोही आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेकाले आधार शिविर सुनसान बन्न थालेको विभागको प्रमुख गौतमले बताए। उनका अनुसार  यो याममा सगरमाथा आधार शिविरमा आरोहीको व्यवस्थापनका लागि एक हजार पाँच सय पाल टाँगिएका थिए।

आधार शिविरमा पर्वतारोही, शेर्पा गाइड र सहयोगी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी तीन हजार हाराहारी मानिसको चहलपहल थियो। आरोहण यामको दुई महीनाभर आधार शिविरमा मानवीय चहलपहल रहन्छ।

यस याममा दुईजना मङ्गोलियन नागरिकको मृत्यु भएको विभागले जनाएको छ। आरोहणका क्रममा घाइते भएका ५० जनाभन्दा बढी आरोहीको सगरमाथाका विभिन्न क्षेत्रबाट उद्धार गरिएको छ। घाइतेमध्ये कतिपय आरोहीको हात, आँखा खिइएको छ। उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिले यसपटक आधार शिविरमा हुने अवैधानिक गतिविधि रोक्ने, जथाभावी ड्रोन उडाउने तथा विदेशी नागरिकको अवैध गतिविधि नियन्त्रणमा पनि भूमिका खेलेको जनाइएको छ। मे २५ भित्र मौसम राम्रो भएकाले सोही समयभित्र आरोहण गरिसक्न विभागको फिल्ड कार्यालयले सबै आरोहीलाई सूचित गरेको छ।

यस वर्षको वसन्त आरोहण गत वैशाख २८ गतेदेखि शुरू भएको थियो। आरोहणका लागि १० जना दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको थियो। पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण करीब अन्तिम चरणमा पुगेको बताए। मौसम अनुकूल रहेकाले बाँकी आरोही पनि सहजरूपमा चुचुरो पुग्ने अनुमान गरिएको उनले उल्लेख गरे।

विभागको पर्वतारोहण शाखाका अनुसार यो सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए।

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमवार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले

यही जेठ ७ गते सोमवार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न सफल भएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

इलाइट एक्सपेड नेपाल एपिएफ एभरेस्ट एक्सपिडिसन नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रालिमार्फत सप्रनि पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनले यसबीचमा सगरमाथासँगै रहेको लुबुचे हिमालको समेत सफल आरोहण गरेका  थिए। एपिएफले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने सङ्गठनले अपेक्षा लिएको जनाएको छ।

 हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एपिएफले पर्वतीय उद्धार तालीम शिक्षालय स्थापना गरिसकेको छ। यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरूप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालीमलाई समेत गुणस्तरीय बनाउन मदत पुग्ने जनाइएको छ। सगरमाथा सीमा क्षेत्रसमेत रहेकोले नेपालको होचो भूभाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बलको उपस्थितिको रूपमा समेत सङ्गठनले लिएको छ। सप्रनि पौडेलले उत्तरी सीमानामा पर्ने सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सिमानानजीक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बिओपी केचनाबाट सप्रनि केशव मैनाली कमान्डको टोली पुगेको थियो।

 सबैभन्दा अग्लो र होचो भूभागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकैसाथ पुगेको बलका प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here