काठमाडौं, ८ जेठ/रासस

एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराइ रु पाँच लाखमा बिक्री गरेको पाइएको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमैं बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराइ पीडित महिलालाई चीन पु–याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो।

पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग बिहे गरेपछि ग्रीनकार्ड बनाउन मिल्छ, त्यसपछि नेपाल आउनजान पाइन्छ, अनि भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा लगेर विवाहसमेत गराएर बेचबिखन गरेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

अनुसन्धानका क्रममा आरोपी घलेले आर्थिक अवस्था कमजोर भएकी महिलालाई यसरी बेचबिखन गर्ने गरेको पाइएको छ। आरोपी घले २०७९ चैत १३ गते अदालतमा चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराइ पीडित महिलालाई २०८० वैशाख १ गते चीन पु–याएर आपूm नेपाल फर्किएकी थिइन्। त्यसपछि चिनियाँ नागरिकले जबरजस्ती वेश्यावृत्तिमा लगाएको पीडितले बयान दिएकी ब्युरोले जनाएको छ।

जबरजस्ती वेश्यावृत्तिमा लगाइराखेको अवस्थामा पीडित महिलाले आफन्तलाई जानकारी गराएपछि बेइजिङस्थित नेपाली दूतावाससँग समन्वय गरेर २०८० असार १ गते उनको उद्धार गरिएको थियो। खोजतलाशका क्रममा ब्युरोबाट खटेको प्रहरीले काठमाडौंको ठमेलबाट घलेलाई पक्राउ गरी अहिले अनुसन्धान जारी राखेको छ। उक्त घटनामा संलग्न चिनियाँ नागरिक र अन्य प्रतिवादीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here