सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ। सदरमुकाम मलङ्गवा र पूर्व–पश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि गौचरनमा परिणत भएको हो।
माछापालन गर्न ठेक्का लिएका ठेकेदारले तालको पानी सुकाएपछि घाँस उम्रिएको छ। गत वर्ष ठेक्का सकिएपछि ठेकेदारले माछा निकाल्ने भन्दै तालको पूरै पानी पम्पसेट लगाएर फालिदिएका थिए।
पानी सुकाएपछि गौचरण बनेको तालमा अहिले स्थानीयले पशुचौपाया चराउने गरेका छन्। ताल परिसरमा रहेका भौतिक संरचनासमेत जीर्ण बन्दै गएका छन्। कुनै समय आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने उक्त ताल अहिले ताल किनार फोहर हुनुका साथै सडक पनि घाँसले भरिएका छन्।
ठेकेदारले अदालतबाट ‘स्टे अर्डर’ नै ल्याएर पूरै तालको पानी बाहिर फलिदिएपछि तालको स्वरूप जीर्ण बन्दै गएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए। “विसं २०७५ मा पालिकाले पाँच वर्षका लागि रु छ करोड १९ लाखमा माछापालन गर्न ताल ठेक्का लगाएको थियो,” उनले भने, “ठेकेदारले प्रत्येक वर्ष जाल हानेर माछा निकाल्ने गरेको थियो। ठेक्का सकिने वर्ष अदालतबाट ‘स्टे अर्डर’ ल्याएर ताल सुक्ने गरी पानी निकालेपछि समस्या सिर्जना भएको हो।”
तालमा बचेको थोरै पानीसमेत स्थानीय किसानले पम्पसेट लगाएर खेतमा लगेपछि पूर्णरूपमा चरन क्षेत्र बनेको स्थानीयको भनाइ छ। पानी सुकेर गौचरनमा परिणत ऐतिहासिक नाढिमन ताल कुरूप देखिन थालेको अध्यक्ष महतोले बताए। एक वर्षदेखि ताल ठेक्का लगाउन नपाउँदा पालिकालाई आर्थिकरूपमा नोक्सानी भएको उनले गुनासो गरे।
तालमा पुन: पानी भर्नका लागि पानीको मुहान सरसफाइ गरी नजीकै रहेको अधबारा खोलाको पानी हाल्ने तयारी भइरहेको अध्यक्ष महतोले जानकारी दिए। पानी भरेपछि यसको संरक्षण र प्रवद्र्धनका लागि पालिकाले विशेष रणनीति लिएर अगाडि बढ्ने उनले बताए।
तालमा पानी भर्ने अन्य उपाय नभएपछि वर्षासम्म कुरेर आधबारा खोला फर्काउने तयारी भएको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोले जानकारी दिइन्। ताल सुकेको अवस्थामा तालको ड्यामलगाययत संरचना पुनर्निर्माण तथा मर्मत भइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले जानकारी दिए।
स्थानीयको अतिक्रमणबाट ३२ बिघामा खुम्चिएको ताल क्षेत्रलाई पटकपटक गरी अतिक्रमण हटाएर ३८ बिघामा पु–याइएको पालिकाले जनाएको छ। यस तालको पूरा क्षेत्रफल ५२ बिघा रहेको जानकारहरू बताउँछन्। तालको ठूलो हिस्सा अझै अतिक्रमणमा रहेको स्थानीय प्रवीण महतोले बताए। ताल १२ फिटसम्म गहिरो छ।
विगतमा यस तालबाट नजीकैका सयौं हेक्टर क्षेत्रफल खेत सिंचाइ हुने गरेको थियो। बिस्तारै तालमा पानी आउने मुहान अतिक्रमणबाट हराउँदै जानु, संरक्षणमा चासो नहुनु तथा लामो खडेरीले ताल सुक्दै जाँदा जीर्ण बनेको उनको भनाइ छ।
तालसँगै सुक्यो चन्द्रनगर ताल सुकेसँगै ताल परिसर तथा चन्द्रनगर बजार क्षेत्र यतिबेला सुनसान बनेको छ। ताल परिसरमा आइपुग्ने जोकोही तालको जीर्ण अवस्था देखेर थकथकाउँदै फर्कने गरेका छन्।
विसं २०७२ मा नेपाली सेनाले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको परियोजना अन्तर्गत करोडौंको लगानीमा उक्त तालको सरसफाइ र सौन्दर्यीकरण गरेको थियो। त्यसपछि गुमनाम ताल पर्यटकीय क्षेत्रमा परिणत भएको थियो। ताल परिसरमा घुम्न, वनभोज खान तथा विभिन्न अवसर पारेर मनाउन आउनेहरूको चहलपहल बढेको थियो। पालिकाले मनोरञ्जनका लागि तालमा ‘पाइडल बोट’ (खुट्टाले चलाउने डुङ्गा)लगायत सामग्री प्रयोगमा ल्याएपछि थप पर्यटक आकर्षित भएका थिए। बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको तालका कारण स्थानीय व्यापार–व्यवसायसमेत फस्टाएको थियो। विगत एक वर्षदेखि तालसँगै यहाँका स्थानीयको आयस्रोत पनि सुक्दै गएको रामजीप्रसाद कापरले बताए।
अहिले ताल परिसरमा रहेका पसल, होटल तथा व्यवसायी पलायन हुने अवस्थामा पुगेका खाजापसल सञ्चालक रीता देवीले सुनाइन्। “पहिले दिनको रु दुई हजारदेखि रु तीन हजारसम्म आम्दानी हुन्थ्यो,” उनले भने, “एक वर्षदेखि ऋण गरेर घरको भाडा तिरिरहेका छौं। एक दिन फेरि नाढिमन तालमा पानी भरिएला र बजार पसल पहिलाझैं सञ्चालन होला भन्ने आसमा छौं।”