काठमाडौं, ७ जेठ/रासस

‘भोलिको दिगोपनका लागि आज मापन गर्छौं’ मूल नाराका साथ सोमवार विश्व नापतौल दिवस मनाइएको छ। नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंको आयोजनामा विश्व नापतौल दिवस मनाइएको हो।

फ्रान्सको पेरिसमा सन् १९७५ मा संसारभरि एकै प्रकारको नापतौल प्रणाली लागू गर्ने उद्देश्यले शुरू भएको मिटर सम्मेलनलाई आधार मानेर विश्वभरसहित नेपालमा समेत विश्व नापतौल दिवस मनाउन थालिएको

हो।

नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक ज्योति जोशी भट्टले औद्योगिकरूपमा विकासशील नेपालको औद्योगिक उत्पादनमा अन्तर्राष्ट्रिय नापतौलका एकाइ प्रयोग गर्दा आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु–याउन सहज हुने हुँदा यसको महत्व अझ बढिरहेको बताइन्।

नेपाल नापतौलका अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न रहेर निरन्तररूपमा नापतौलका आधुनिक प्रणालीको विकास गरी नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत देशभरिका उद्योग, कलकारखाना, व्यवसाय तथा प्रयोगशालालाई सेवा दिइरहेको उनको भनाइ छ।

विभागका उपमहानिर्देशक तारादत्त भट्टले नेपालमा नापतौलको महत्व व्यापक बढेर गएको उल्लेख गरे। उनले औषधिमा नापतौल गडबड भएमा बिरामीको ज्यान जान सक्ने उदाहरण प्रस्तुत गर्दै ऐन, नियमको पालना गरी नापतौलको प्रयोग गर्न आम व्यवसायी तथा उपभोक्तालाई आग्रह गरे।

विभागकी नापतौल महाशाखा प्रमुख एवं वरिष्ठ निरीक्षक मौनता मानन्धरले मानवजीवनमा नापतौलको ठूलो महत्व रहेको जनाउँदै यसलाई साँघुरो घेराबाट हेर्न नमिल्ने बताइन्। नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पु–याउनका लागि नापतौलको महत्व बढेर गएको उनको भनाइ थियो।

नापतौलमा विश्वभर एकरूपता कायम होस् भन्ने उद्देश्यले सन् १८७५ मा फ्रान्सको पेरिसमा सम्पन्न मिटर सम्मेलनमा अवधारणा ल्याइएको थियो। शुरूको समयमा उक्त सम्मेलनमा १७ देशले भाग लिए पनि हाल एक सयभन्दा बढी देश उक्त संस्थामा आबद्ध भइसकेका छन्।

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल कार्यालयबाट इजाजत लिएर मात्र नापतौल प्रयोग गर्न आम व्यवसायीलाई आग्रह गरे। उनले शुरूमा जयस्थिति मल्ल र राम शाहको पालामा मानापाथीको चलन चले पनि विसं २०२५ मा स्ट्यान्डर्ड नापतौल ऐन निर्माण भई जारी भएको उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here