काठमाडौं, ३१ वैशाख/रासस
केन्द्रीय तथ्याङ्क कार्यालयले मुलुकको हिमाल, पहाड र तराईको वस्तुस्थितिमा आधारित भई तयार पारेको राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा २९ जिल्लाका छ हजार पाँच सय घरपरिवारमा पुगी तयार पारिएको सो प्रतिवेदन प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल र नेपालस्थित युएनडिपीका आवासीय उपप्रमुख जुलियन सेभिलार्डले सोमवार सार्वजनिक गरेका हुन् ।
कम्तीमा २५ वर्ष एकै स्थानमा बसोबास गर्दै आएका ४५ वर्षमाथिका सर्वसाधारणलाई सोधिएको प्रश्नावलीका आधारमा प्रतिवेदन तयार गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।
सो अवसरमा प्रमुख तथ्याङ्क अधिकारी पोखरेलले देशको समग्र भूभाग समेट्ने गरी जलवायु परिवर्तनसम्बन्धी तयार गरिएको प्रतिवेदन नीति निर्माण तहमा कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
युएनडिपीका उपप्रमुख सेभिलार्डले सरकारी निकायसहित विकास साझेदार र गैरसरकारी संस्थालाई नीति निर्माण एवं कार्यक्रम तर्जुमा गर्न जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनले सहयोग पु¥याउने धारणा व्यक्त गरे । प्रतिवेदनमा खडेरी, बाढी, पहिरो, वन अतिक्रमण र डढेलो, भूक्षय, रासायनिक मल एवं विषादीको अधिक प्रयोगलगायतका कारण तापक्रम वृद्धि भई जलवायु परिवर्तनको असर देखिएको उल्लेख छ ।