पर्वत, २८ वैशाख/रासस

पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिड्ढा लागि पालिकाले अनुसन्धान शुरू गरेको हो ।

पालिकाका विभिन्न वडामा व्यावसायिकरूपमा उत्पादन हुँदै आएका कोदो, भात, सुन्तला, किबीलगायतका मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको काम सर्च नेपालसँग सहकार्य गरेर अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । उनका अनुसार गाउँपालिकाको अघिल्लो गाउँसभाबाट घरेलु मदिराको अध्ययन अनुसन्धान गर्ने निर्णय पारित भएको थियो ।

छिमेकी जिल्ला स्याङ्जा र कास्कीमा समेत घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री वितरण गरिरहेको अवस्थामा महाशिलाले पनि कार्यक्रम अघि बढाएको अध्यक्ष भुसालले बताए । घरेलु मदिरा कोदो, मकै, चामल, केरा, भोगटे, जुनार, जौ, आरुबखडालगायत विभिन्न जातका अन्न तथा फलपूmलबाट उत्पादन गर्ने गरिएको छ । महाशिलामा उत्पादनका आधारमा कोदो बढी उत्पादन हुने अन्न हो । यसलाई ब्रान्डिङ गर्दा उपयुक्त हुने निष्कर्षका साथ अनुसन्धान शुरू गरिएको उनको भनाइ छ ।

गाउँपालिकामा कोदोको बढी सम्भावना भएकोले कोदोको मदिरालाई प्राथमिकता दिएर अनुसन्धान गरिएको अध्यक्ष भुसालले बताए । “यहाँ धेरै पहिलेदेखि स्थानीयले मदिरा बनाउँदै आउनुभएको छ, धेरैको जीविकोपार्जन यसैबाट भइरहेकोले यसलाई कसरी व्यवस्थित गरेर अघि बढ्न सकिन्छ भनेर अनुसन्धान गरी सो कार्यान्वयन गर्न लागिपरेका छौं”–उनले भने–“अनुसन्धान रिपोर्टपश्चात् बाँकी काम अगाडि बढ्नेछ ।”

सर्च नेपालले गरेको उक्त अनुसन्धानमा कोदोको गुणस्तरीय मदिरा सङ्कलन गरिएको र नमूना सङ्कलनका लागि सबै वडामा तामाका भाँडा प्रयोग गरी मदिरा बनाइएको छ । घरेलु ज्ञान, सीप र प्रविधि प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध हुने कोदोबाट एकदेखि सातपाने र मिश्रित एकदेखि सातपानेसम्मको गुणस्तरीय मदिरा सङ्कलन गरी नमूना ल्याब परीक्षणका लागि पठाइएको अध्यक्ष भुसालले जानकारी दिए । उनका अनुसार पालिकाका छुट्टाछुट्टै बस्ती र समुदायमा तयार गरिएको मदिराको छुट्टाछुट्टै नमूना सङ्कलन गरिएको छ ।

सङ्कलन गरिएका नमूनामा अल्कोहलको मात्रा पत्ता लगाएर खानयोग्य मदिरामा अल्कोहलको मात्रा खुलाई ब्रान्डिङ गर्न सिफारिश गरिने सर्च नेपालले जनाएको छ । ब्रान्डिङ भएपनि अहिले अवैधरूपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थितरूपमा उद्योग सञ्चालन गरी उत्पादन अनुमति प्रदान गरिने भएको छ ।

महाशिला गाउँपालिकाका छवटै वडामा लुकीछिपी घरेलु मदिरा उत्पादन र बिक्री वितरण हुँदै आएको छ । यसको ब्रान्डिङ गर्न सके पालिकाको राजस्व वृद्धि हुनुका साथै स्वरोजगारका अवसर वृद्धि हुने पालिकाको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here