काठमाडौं, १८ फागुन/रासस
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बन्न पुगेको बताएको छ ।
सिबिफिनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै धितो र कर्जा प्रवाहका विषयमा प्रचलित नियम तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन एवं जानकारीविनै बैंकरमाथि धरपकड भएको आरोपसमेत लगाएको छ ।
“धितो र कर्जा प्रवाहका विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रणमा लिनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन्”– परिसङ्घले विज्ञप्तिमार्पmत भनेको छ, “समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पु¥याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन आग्रह गर्दछौं ।”
बैंक तथा वित्तीय संस्थाका गतिविधि नियामक नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानीमा रहने हुँदा बैंकभित्र कुनै पनि बदमाशी भए तत्काल राष्ट्र बैंकले कारबाई गर्ने गरेको सिबिफिनको दाबी छ ।
“कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुनेगरी बदमाशी गर्ने सम्बद्ध व्यक्तिविरुद्ध प्रचलित कानून अनुसार कारबाई हुनुपर्दछ र हुँदै आएको पनि छ”–परिसङ्घको विज्ञप्तिमा भनिएको छ–“व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ ।”
बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी सम्भावित जोखिम व्यवस्थापन गर्नु र खराब कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई बेवास्ता गर्दै अनाहकमा कारबाईको भागीदार बनाइनु न्यायसङ्गत नहुने सिबिफिनको तर्क छ । यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र नभई विनाधितो वा परियोजना धितोमा कर्जा प्रवाह गर्ने अभ्यासमा समेत असर पर्ने उसले जनाएको छ ।