सुदीप राउत, सिराहा, १७ फागुन/रासस
ज्यूँदै म-याको भनी नाम छ कसको ?
उद्यमविना बित्छ काल जसको ।
आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुसरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमविनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी वहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैं र सबैका लागि लागू नहुन सक्छ । त्यसैको उदाहरण हुन् सिराहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी ।
विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख भएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेशा बनाएका छन् । “सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ,” चौधरीले भने, “नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुप¥यो नि सबैले ।”
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेशा बताएका छन् । उनले डेढ बिघामा तोरी, दुर्ई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहेका छन् । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करीब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए ।
“राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ,” चौधरी भन्छन्, “त्यसै कारण मैले व्यावसायिक कृषि शुरू गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।”
उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैंबाट शुरू गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए । “सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डो-याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ,” उनले भने ।
राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुशी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुर्ई पैसा खर्च गर्ने साहस पनि बढेको बताए ।
चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानी मात्रै बढेको छैन, त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुशी दिने गरेको छ । त्यो खुशीले उनकी पत्नी बचकुनदेवी चौधरीको खुशीको दायरा पनि फराकिलो बनाएको छ । “गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरा पतिको पनि कुरा काटेको सुन्थें । मन अमिलो हुन्थ्यो,” बचकुनदेवीले भनिन्, “पतिले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुशी हुन्छ ।”
चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोडेका छैनन् । त्यसरी राजनीतिकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथि पनि पत्नी बचकुनदेवी नै हुन् ।
उत्पादनसँग जोडिऔं
अधिकांश जनता कृषि पेशामा भएपनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उनले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए । सोही भावना अनुसार आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले बताए ।
“हामीसँग उर्वर माटो छ । अनुकूल वातावरण छ,” उनले भने, “सिंचाइ सुविधा, समयमैं मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।”
जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता, कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेश गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ । माओवादीले विसं २०६९ माघ हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यस अनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ ।
“जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौंडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार ग-यो तर नेताहरूले सो अनुसारको व्यवहार अङ्गिकार गर्न सकेनन् ।
हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवा विदेशिइरहेका बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान शुरू गर्नुपर्छ,” उनले भने ।
राजनीति पेशा होइन, सेवा हो
राजनीतिलाई सेवाभन्दा पनि पेशा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेथिति र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको धारणा राख्छन् ।
“राजनीतिमा उद्योग, व्यापार, जागीर वा आयआर्जनको अरू केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिंदैन,” चौधरी भन्छन्, “समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैंले त्यो बाटो रोजिसकेको छु । अरूलाई पनि आह्वान गर्छु ।”