बलेवा (बागलुङ), १७ फागुन/रासस
बागलुड्ढो जैमिनी नगरपालिकाले हलगोरु राख्ने किसानलाई प्रोत्साहनस्वरूप रु १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको हो ।
यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान गरेको थियो । गोरु पाल्ने र गोरुबाट खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलब्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । १० वटा वडा रहेको नगरपालिकाका तीन सय किसानले प्रस्ताव पेश गरेका थिए । तीमध्ये चालू आर्थिक वर्षमा ३० जनालाई जनही रु १० हजारका दरले प्रोत्साहन उपलब्ध गराइने भएको हो ।
“कृषिमा आधुनिक हाते ट्याक्टर भित्रिंदा स्थानीय स्रोत साधनको प्रयोग नै हरायो”–उनले भने–“गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमूत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकोले गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।” आधुनिक मेशीनको प्रयोगमा किसानको धेरै पैसा विदेशिने भएकोले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ । उनले “गोरु प्रयोग गर्दा काम ढिलो होला, तर अनुत्पादक हुँदैन, व्यावसायिक किसानलाई भन्दा आप्mनो लागिमात्रै उत्पादन गर्ने किसानका लागि मेशीनभन्दा गोरुको प्रयोग उपलब्धिमूलक हुन्छ ।”
नगरपालिकाभित्र झन्डै तीन सय बढी हाते ट्याक्टरलगायत सामग्री खनजोतका लागि प्रयोगमा छन् । आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैली सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ । त्यस्तै नगरपालिकाले बीउको रूपमा राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ । मासु र दूधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको नगरपालिकाले बीउका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउने भएको छ ।
चालू आवमा नगरभरिका २० जना किसानलाई जनही रु १० हजारका दरले प्रोत्साहन उपलब्ध गराउन लागिएको ढकालले बताए । हलगोरु र राँगा पाल्ने किसानको तथ्याङ्क तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जैमिनी नगरपालिकाका बेंसी फाँटमा हाते ट्याक्टरको प्रयोग बढिरहेको भए पनि लेकका खेतवारीमा गोरुले जोत्ने प्रचलन कायम छ । पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेको सङ्ख्यामा कमी आउँदा गोरु पाउनसमेत कठिन हुने गरेको किसान रुद्रप्रसाद शर्माले गुनासो गरे ।