काठमाडौं, १४ फागुन/रासस
वीर अस्पतालले फार्मेसीका लागि विनाप्रतिस्पर्धा औषधि खरीद गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए ।
अस्पताल प्रशासनले भने तीनवटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरीद गरेको दाबी गरेपनि अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौता अनुसार खरीद भइरहेको पाइएको उनको भनाइ छ ।
अनुगमन टोली सदस्यसमेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भने–“विसं २०७८ देखि हालसम्म बोलपत्र आह्वान नगरी औषधि खरीद भइरहेको अनुगमनका क्रममा देखिएको छ ।”
उनले अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, अनावश्यक औषधि स्टोरमा राखेको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको जानकारी दिए ।
वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले फार्मेसीको नेतृत्व यसबीच तीन पटक परिवर्तन भएकोले बोलपत्र आह्वानमा समस्या देखिएको बताए । उनले केही औषधि खरीदका लागि भने बोलपत्र आहवान भइसकेको जानकारी दिए ।
“बीमाबाट आउनुपर्ने रकम छ महीनासम्म पनि नआउँदा आपूर्तिमा समस्या भएको हो । अन्यत्रबाट सोझै खरीद गरी ल्याउन सकिन्न”–उनले भने–“आपूर्तिकर्तासँग अत्यावश्यक औषधि खरीदका लागि पटक–पटक छलफल गर्दा पनि भुक्तानी नभएकोले आपूर्ति रोकिएको छ ।”
निर्देशक पौडेलले प्राविधिक जनशक्ति अभावले अस्पतालद्वारा सञ्चालित तीन वटा फार्मेसी चौबीस घण्टा सञ्चालन गर्न नसकिएको पनि बताए । उनले एउटा काउन्टर २४ घण्टा सञ्चालन गरे पनि दुईवटा काउन्टर भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन भइरहेको जानकारी दिए ।
निर्देशक पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा फार्मेसी भवन निर्माणका लागि खालि ठाउँमा टहरा निर्माणको ठेक्का लगाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । “केही दिनमा टहरा निर्माण र बोलपत्र आह्वान गरी औषधि आपूर्ति पनि भइसक्छ”–उनले भने–“जनशक्ति थप गरेपछि अहिलेको समस्या ९० प्रतिशत समाधान हुनेछ ।”