जनकपुरधाम, १३ फागुन/रासस
सरकारले आजदेखि शुरू गरेको दादुरा–रुबेलाविरुद्ध खोप अभियान अन्तर्गत मधेस प्रदेशका आठ जिल्लाका १९,४७,१४२ जना बालबालिकालाई खोप लगाइने भएको छ ।
आज जनकपुरधाम उपमहानगरपालिका– २३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रबाट उपमहानगरप्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले खोप अभियानको शुभारम्भ गरे ।
त्यस अवसरमा निर्देशनालय प्रमुख झाले मधेस प्रदेशका आठ जिल्लामा नौ महीनादेखि १५ वर्ष उमेर समूहका १९ लाख ४७ हजार एक सय ४२ जनालाई खोप लगाइने जानकारी दिए । राष्ट्रिय अभियान अन्तर्गत आजदेखि चैत ७ गतेसम्म प्रदेशका १३६ पालिकाका सबै १,०७१ वडामा ११,३४६ केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि १५,५८४ खोप कार्यकर्ता र त्यति नै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए ।
त्यस्तै स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको दुर्ई लाख ५१ हजार सात सय ९८ भाइल, २१ लाख ९४ हजार सिरिन्ज र २१ लाख ९६ हजार घोलक सिरिन्ज नेपाल सरकारकारमार्पmत प्राप्त भएको पनि जानकारी दिइयो ।
अभियान सफल पार्न सरकारबाट जिल्लास्तरमा खोप कार्यक्रम सञ्चालनका निम्ति रु छ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्न रु दुर्ई लाख १३ हजार नौ सय प्राप्त भएको पनि निर्देशनालयले जनाएको छ ।
जनकपुरधाम उपमहानगर प्रमुख साहले मधेस प्रदेशका जिल्लाहरू दादुरा–रुबेलाको जोखिममा रहेकाले अभियानबाट लाभ लिन नगरवासीलाई आग्रह गरे । सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्यका साथ अभियान शुरू गरेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई नजीकको खोप केन्द्रमा लैजान अनुरोध गरे ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजदेखि देशव्यापीरूपमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०–८१ को शुभारम्भ गरेका छन् ।
भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तान्तरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन गरे ।
मन्त्री बस्नेतले सन् २०२६ भित्र नेपालबाट दादुरा–रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न देशभरका स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गरे ।
आजदेखि शुरू भई चैत ७ गतेसम्म सञ्चालन हुने यो अभियान प्रभावकारी ढङ्गले देशैभरि सञ्चालन हुनेमा आफू विश्वस्त रहेको भन्दै उनले कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न आग्रह गरे । अभियानको शुभारम्भ मध्यपुरथिमिबाट भएको भन्दै उनले भक्तपुरले यहीं अभियानमा शतप्रतिशत खोप लगाएर देशकै नमूना जिल्ला बन्न जोड दिए ।
तराई र काठमाडौं उपत्यका दादुरा–रुबेलाको उच्च जोखिममा रहेको भन्दै मन्त्री बस्नेतले पहिले खोप लगाएकाले पनि पुनः खोप लगाउन र खोप लगाउन छुटेकालाई पनि पहिचान गरेर खोप लगाउन निर्देशन दिए ।
मन्त्री बस्नेतले भने–“यो खतरनाक रोग हो । यसबाट बालबालिकाको मृत्यु पनि हुन सक्छ, एकजना बिरामीले १८ जनालाई रोग सार्न सक्छ । विद्यालयबाट यो रोगको सङ्क्रमण फैलिए महामारीको रूप लिन्छ । त्यसैले शिक्षा दिने थलो विद्यालयबाटै यो अभियान शुरू गरेका छौं, नियमित खोप लगाएकाहरूले पनि यो खोप दिनुपर्छ ।”
खोप लगाउनुपर्छ भन्नेबारे अझै पनि जनचेतनाको कमी रहेकोले स्थानीय तहले जनचेतना जगाउँँदै विद्यालय, टोल र आवश्यक परे घरघरमा गएर भए पनि खोप लगाएर अभियानलाई पूर्णता दिन उनले आहवान गरे । मन्त्रालय एक्लै लागेर अभियान सफल हुँदैन भन्दै उनले सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको बताए ।
आफू स्वाथ्यमन्त्री भएर आएपछि स्वास्थ्यको क्षेत्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच त्रिकोणात्मक समन्वय गराएर काम गरिरहेको भन्दै सरकारको लक्ष्य पूरा गर्न स्थानीय तहको भूमिका महŒवपूर्ण हुने मन्त्री बस्नेतले बताए । उनले शहरी क्षेत्रमा बसाइँ सरेर आएका र जानेमा खोप लगाउन ध्यान केन्द्रित गर्दै शतप्रतिशत खोपको सुनिश्चितता गर्न जोड दिंदै अभियान सफल पार्न सबै निकायलाई आग्रह गरे ।
कार्यक्रममा भक्तपुरका सङ्घीय सांसद दुर्लभ थापाले खोप अभियानलाई सफल पार्न स्थानीय तह र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहने भएकोले यी निकाय सक्रिय हुनुपर्ने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंहले दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य हासिल गर्ने क्रममा चार प्रतिशत बालबालिकामा खोप लगाउन छुटेको र रोग पनि देखा परेपछि अभियान सञ्चालन गर्नुपरेको बताए । खोप लगाउन छुटेको, बढी जनसङ्ख्या भएका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अब खोप लगाउन कोही नछुट्नेगरी अभियान शुरू भएको बताए ।
स्वाथ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्रले सरकारले २०२३ मै दादुरा–रुबेला निवारणको लक्ष्य राखे पनि विभिन्न कारणले सम्भव नभएको भन्दै २०२६ मा यो लक्ष्य प्राप्त गर्नुपर्ने बताइन् ।
उनले भनिन्–“यो लक्ष्य प्राप्ति नगर्दा राज्यको करोडौं लगानी खेर जान्छ, त्यसैले यो अभियानमा ५७ लाख ५० हजार बालबालिकालाई खोप पु-याउने छौं, अझै चार प्रतिशत बालबालिकामा नियमित खोपसमेत पुग्न सकेको छैन, ती छुटेका बालबालिकालाई पनि अभियानमैं सबै खोप पु-याउँछौं ।”
अभियानमा उच्च राजनीतिक प्रतिबद्धतासमेत आएकाले अभियान सफल हुनेमा ढुक्क रहेको भन्दै उनले स्वास्थ्य संस्थाका कर्मचारी र स्वयंसेविकालाई पूरा शक्ति लगाएर काम गर्न निर्देशन दिए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले कतिपय अभिभावकको व्यस्तता र बसाइँसराइले समस्या देखिएको भन्दै नगरपालिकाले घरघरमैं पुगेर खोप लगाउने व्यवस्था गरेको बताए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आउँदो २०८१ सालभित्र चाँगुनारायणलाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्ने चरणमा रहेको भन्दै सरकारको अभियान सफल पार्ने बताए ।
देशको ७२ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसके पनि बाँकी पाँच जिल्लालाई पनि घोषणा गर्ने गरी प्रयत्न भइरहेको बताइएको छ । कार्यक्रममा युनिसेफ नेपालकी प्रतिनिधि एलिश अकुंगा, विश्व स्वास्थ्य सङ्गठनका आवासीय प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले नेपाल सरकारले शुरू गरेको अभियान पूरा हुनेमा विश्वस्त रहेको बताइन् ।
यस्तो छ अभियान
दादुरा–रुबेलाको उच्च जोखिममा रहेका तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महीनादेखि १५ वर्षमुनिका बालबालिका र बाँकी ५१ जिल्लामा नौ महीनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ ।
कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा एवं परिवार कल्याण महाशाखा प्रमुख डा अभियान गौतमले नौ महीनादेखि पाँच वर्षमुनिका २१,३०,६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६,१२,३१० बालबालिका गरी ५७,४२,९९३ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको जानकारी दिए ।
खोप अभियानका लागि देशभरि ४९,९३७ स्वास्थ्यकर्मी र ५९,९०६ जना स्वयंसेवक परिचालन गरी ४८,७९८ खोप केन्द्रबाट खोप लगाइने उनले बताए । यस अभियानमा खोप लगाउन छुटेका नौ महीनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी हेपाटाइटिस बी, धनुषटङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्ध सातवटा रोगविरुद्ध खोप पनि सँगै सञ्चालन हुनेछ ।
खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रूघाखोकी लाग्नेजस्ता समस्या देखिए नआत्तिन भनिएको छ । यस्तो समस्या देखिए समाधान गर्न प्रत्येक जिल्लास्तरमा आकस्मिक उपचार टोलीसमेत गठन गरिएको छ । तराईका झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला दादुराको उच्च जोखिममा रहेकाले यी जिल्लामा नौ महीनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको बताइएको छ ।
खोप अभियान गाभीको सहयोगमा सञ्चालन हुन लागेको हो । अभियानमा गाभी, युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको सहयोग रहेको छ । अभियानका लागि रु १,१२,६७ बराबरको सहयोग रहेको र नेपाल सरकारले २३ करोड २१ लाख गरी १,३५,००,००,००० बराबर खर्च हुने बताइएको छ ।