काठमाडौं, ६ फागुन/रासस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले पूर्वसचिव सञ्जय शर्माविरुद्ध रु छ करोड ९७ लाख ८३ हजार १७८, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायविरुद्ध रु चार करोड ११ लाख ३४ हजार २७९ बराबरको बिगो दाबी गरिएको छ ।

खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध रु ६० करोड ४९ लाख १९ हजार ८८४ बराबरको बिगो दाबी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध रु ११ करोड नौ लाख १७ हजार ४५८ बराबरको बिगो दाबी गरिएको छ ।

आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध रु ७१ करोड ५८ लाख ३७ हजार ६४३, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईविरुद्ध रु २२ करोड ७५ लाख १९ हजार ८९६ बराबरको बिगो दाबीका मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटाविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलविरुद्ध रु ८९ करोड आठ लाख ९८ हजार २८५, समितिका तत्कालीन उपसचिव मणिभद्र न्यौपानेविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३, लेखा अधिकृत रामचन्द्र न्यौपानेविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३ बराबरको बिगो दाबी गरिएको छ । तत्कालीन उपसचिव बेगनाथ पौडेलविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३, तत्कालीन उपसचिव केदारप्रसाद अर्यालविरुद्ध रु ४४ करोड ७३ लाख ७३ हजार ७२, समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३ बराबरको बिगो दाबी गरेको छ ।

परामर्शदाता कम्पनीका ‘डिपुटी टीम लिडर’ शिवकुमार शर्माविरुद्ध रु ४८ करोड ३६ लाख सात हजार ५८०, परामर्शदाता कम्पनी इप्टिसालाई रु ८७ करोड ५८ लाख ८३ हजार ३६० र निर्माण कम्पनी सिएमसीलाई रु ६५ करोड १४ लाख ५७ हजार ४१० बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here