लुम्बिनी, ३ फागुन/रासस
“राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौंतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो,” बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षीया यात्री नारायणी थापाले सुनाइन् । उनी छोरीसँगै काठमाडौं जान बुधवार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेकी थिइन् ।

सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजीकै दुर्घटना हुँदा उनी घाइते भई हाल अस्पतालमा उपचाररत छिन् । सो दुर्घटनामा परी सात पुरुष र तीन महिला गरी १० जनाको मृत्यु भयो भने ३० जना यात्री घाइते भए ।

“दुर्घटनापछि यात्रीहरू बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिएँ । त्यसपछि दुईजनाले उद्धार गर्नुभयो,” भीमदत्त नगरपालिका–१६ घर भएकी थापाले सुनाइन्, “रातिको समय, जङ्गल र पहाडको खोंचमा फोन पनि नलाग्ने भएकोले उद्धार तत्कालै हुन पाएन । अँध्यारोमा जो बोल्छ आवाज सुनेर उद्धारकर्ताले शुरूमा उनीहरूलाई नै उद्धार गरे जस्तो लाग्यो ।”

सोही बसमा सवार कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पालले दुर्घटना हुँदाको क्षण सम्झँदै भने, “राति भएकोले अधिकांश यात्री मस्त निद्रामा थिए । म भने निदाइसकेको थिइनँ । त्यही बेला बस ठोक्किएको ठूलो आवाज आयो र पल्टियो । सबै यात्रीहरू चिच्याउन थाले ।”

कपिलवस्तुकै चन्दौटास्थित अस्पतालमा उपचार गराइरहेका पालले दुर्घटनापछि आफू उठ्नका लागि पटकपटक प्रयास गर्दा पनि असफल भएको बताए । “शरीर नराम्रोसँग ठोक्किएछ, अहिले पनि राम्रोसँग उठ्न नसक्ने अवस्था छ । ढाड अझै दुःिखरहेको छ,” उनले भने, “जीवनमा पहिलोपटक ठूलो दुर्घटनाबाट बचियो ।” उनी बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गर्छन् ।

पेशाले मूर्तिकार काठमाडौं कीर्तिपुरका अनिल ताण्डुकारले चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमैं दुर्घटना भएको अनुभव सुनाए । “आँखा अगाडि नै धेरैको ज्यान गयो, चाहेर पनि सबैको उद्धार गर्न सकिएन,” अनिलले भने । उनी बसको क्याबिनमा चालकनजीकैको सिटमा बसेका थिए ।

दुर्घटनामा रौतहट औरही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिकहल–३ भई हाल नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत अर्जुनकुमार योगी, भारत, उत्तर प्रदेश मुरादाबादका सकील मुसलमान, भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामीको मृत्यु भएको छ ।

साथै भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरकी २७ वर्षीया सञ्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाटा बस्ने विमलादेवी भट्टको पनि ज्यान गएको छ ।

बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्किएर यात्री बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको बताए । बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहेका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रीले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

घटनास्थल घना जङ्गल र पहाडमा पर्ने भएकोले सहजरूपमा सञ्चार सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको घाइते यात्रीहरूको भनाइ छ । सशस्त्र प्रहरी भालुवाङ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कपिलवस्तुको रोप रेस्क्यु टीमले उद्धार गरेको सशस्त्र प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसीले बताए ।

“उद्धारका क्रममा पहिलो प्राथमिकता जटिल घाइतेलाई दियौं,” केसीले भने, “घटनास्थलको अवस्था हेर्दा धेरै मानवीय क्षति हुनबाट जोगिएको छ ।” बस दुर्घटना हुनुमा बसको ब्रेकमा समस्या अथवा चालक निदाएको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here