काठमाडौं, २४ पुस/रासस
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्बिया पठाइदिन्छु भन्दै रु १३,५०,००० हजार ठगी गरेको अभियोगमा उदयपुर, कटारी नपा–१ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षीय विकाशकुमार घले र काठमाडौं महानगरपालिका–९ सिनामङ्गल शम्भुमार्ग बस्ने टोकियो ओभरसिसका कर्मचारी ३९ वर्षीय सञ्जय लामालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले घलेलाई महाबौद्धबाट सोमवार दिउँसो र लामालाई सिनामङ्गलबाट आइतवार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाईका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यस्तै पोल्यान्ड पठाइदिन्छु भन्दै रु दुर्ई लाख १५ हजार ठगी गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिका–५ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका–८ जरंखु बस्ने ३० वर्षीया पूजा श्रेष्ठलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि पोल्यान्ड पठाइदिने भनी ठगी गरेको प्रहरीले जनाएको छ ।

यसैगरी मलेशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहटको वृन्दावन नगरपालिका–४ घर भई काठमाडौं–३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल साह कानूलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि मलेशिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई सिनामङ्गलबाट पक्राउ गरेको जनाइएको छ ।

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने दुर्ई पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुर्ईजनालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल काठमाडौं टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टङ्कप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका–४ घर भई ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन् ।

वैदेशिक रोजगारका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टङ्कप्रसादले एकजना पीडितबाट रु तीन लाख र विक्रमले एकजनालाई मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रु आठ लाख ९० हजार ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटेको प्रहरीले टङ्कप्रसादलाई काठमाडौं बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाईको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले एकजनालाई वैदेशिक रोजगारका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक रु एक लाख ५० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटेको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाईको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here