मनहरी, १६ पुस/रासस
हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । सोमवार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधिसहित रु दुई लाख जितेको हो । एपिएफले न्यू डाइमन्डलाई १९–२५, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो । उपविजेता भएको न्यू डाइमन्डले रु एक लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपिएफका सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यू डाइमन्डले प्राप्त गरेको छ । उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेन्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित भए ।

सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार र विधागत उत्कृष्टले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरे । पाँचवटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन भएको थियो । एपिएफ ११ अङ्कका साथ समूह विजेता र न्यू डाइमन्ड १० अङ्कसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा न्यू डाइमन्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त गरेका थिए । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले रु ५०/५० हजार प्राप्त गरेका छन् ।

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष वसन्तकुमार सिटौला, वडाध्यक्षहरूलगायतले पुरस्कार वितरण गरेका थिए ।

मकवानपुर जिल्ला खेलकूद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौंडामा आयोजना गरेको बृहत् खेलकूद तथा व्यापार महोत्सवमा भलिबल सङ्घ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले १३ गतेदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here